अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन

दाङ, ६ फागुन । दाङको घोराहीमा भएको ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन बनेको छ । अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा तीन दिनसम्म चलेको जिल्लास्तरीय च्याम्पियनसिपमा ४४ पदक जित्दै अल्फा तेक्वान्दो डोजाङको टिम च्याम्पियन बनेको हो । अल्फा तेक्वान्दो डोजाङ विगत चार वर्षदेखि च्याम्पियन बन्दै आएको छ ।
च्याम्पियन बनेको अल्फाले १७ स्वर्ण, १२ रजत र १५ काश्य पदक जित्न सफल भएको छ । च्याम्पियन बनेको अल्फाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । च्याम्पियनसिपमा २१ पदक जित्दै सेन्टर तेक्वान्दो डोजाङ तुलसीपुरको टिम उपविजेता बनेको छ । सेन्टरले ६ स्वर्ण, चार रजत र ११ काश्य पदक जित्दै उपबिजेता बन्न सफल भएको हो ।
उपबिजेता बनेको सेन्टर तेक्वान्दो डोजाङले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको अल्फा तेक्वान्दो डोजाङकी प्रमुख तथा प्रतियोगिता संयोजक सुनिता विष्टले जानकारी दिएकी छिन् । च्याम्पियनसिपमा पुरुषतर्फ सेन्टर तेक्वान्दो डोजाङका खेलाडी गणेश विक र महिलातर्फ अल्फा तेक्वान्दो डोजाङकी खेलाडी किरण घले उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । यसैगरी कोचतर्फ आयोजक टिम अल्फा तेक्वान्दो डोजाङका कोच सुमित लामा र रेफ्रीतर्फ देवराज खाम्चा बन्न सफल भए । उत्कृष्ट बन्न सफल खेलाडी, कोच तथा रेफ्रीलाई पुरस्कृत गरिएको थियो । च्याम्प्यिनसिपका विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फागुन २, ३ र ४ गते तीन दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका २० बढी डोजाङका चार सय ५० बढी खेलाडीको सहभागीता रहेको थियो । च्याम्पियनसिपमा महिला र पुरुष खेलाडीले २१ केजी तौल समूहदेखि ६० केजीसम्म तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसअन्तर्गत पुरुष र महिला खेलाडीले २१–२३ केजी, २४–२७ केजी, २८–३२ केजी, ३३–३६ केजी, ३७–३९ केजी, ४०–४३ केजी, ४४–४७ केजी, ४८–५१ केजी, ५२–५५ केजी, ५६–५९ र ६० प्लस केजी तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसैगरी पुम्से पुरुष र महिलातर्फ एकल १० वर्ष मुनिका खेलाडीले प्रतिष्पर्धा गरेका थिए भने ग्रुप पुम्से र पियर पुम्सेतर्फ १० वर्षमुनि, १४ वर्षमुनि र १८ बर्षमुनि मुनिमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।