Ad Area

गोरक्ष सिद्धरत्ननाथ मठको पिरमा योगी ब्रह्मनाथ चयन


दाङ, १३ फागुन । घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठको नयाँ पीर (मठाधीश) मा ब्रह्मनाथ योगी चयन भएका छन् ।

विजया एकादशीका अवसरमा सोमवार चौघेरा मठमा भएको साधुसन्तको भेलाले मठको नयाँ पीरका रूपमा ब्रह्मनाथ योगी पुनः चयन गरेको हो । उनी गत वर्ष पनि मठको पीरका रूपमा रहेका थिए । पीरलाई मठको प्रशासनिक प्रमुखका रूपमा लिने र पीरले नै मठमा सम्पूर्ण पूजापाठ गर्ने प्रचलन रहेको छ । यसैगरी मठको भण्डारीमा ज्ञाननाथ योगी, पुजारीमा शागरनाथ योगी र सिरानेमा काशीनाथ योगी चयन भएका छन् ।

भण्डारी ज्ञाननाथ नयाँ भए पनि अन्य सबै पुरानै दोहोरिएका छन् । जिल्लाको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ (मन्दिर) गोरक्ष सिद्धरत्ननाथ मठको पिरमा योगी ब्रह्मनाथ चौघेरामा पुजासँगै प्रशासनिक कार्य सञ्चालनका लागि प्रत्येक वर्ष फागुन कृष्णपक्षको विजया एकादेशीका दिन पीरसँगै भण्डारी, पुजारी र सिराने चयन गर्ने परम्परा रहेको छ । पीर भएपछि मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाइने र दैनिक पूजापाठमा मात्रै सहभागी हुनुपर्ने व्यवस्था रहेको छ ।

पीर बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहिआएको छ । मठका सञ्चालक, योगीहरू र भद्रभलाद्मीहरूको दलिचा बैठकबाट पीर चयन गर्ने परम्परा छ । ८०९ सालदेखि नै गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा पीर स्थापना गर्ने र मेला लाग्ने परम्परा रहेको छ । यस वर्ष मेलालाई भव्य बनाउनका लागि विभिन्न पसलसँगै थारू, मगरलगायतका मौलिक नृत्य समेत प्रस्तुत गरिएको मेला समितिका संयोजक तथा घोराही उपमहानगरपालिका–१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिएका छन् ।