Ad Area

पिएम कपमा बिहीबार एपिएफ र मधेस प्रदेशकाे खेल राेमाञ्चक हुने


लमही, २८ फागुन । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत बिहीबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा विभागीय टिम एपिएफ र मधेस प्रदेश आमने–सामने हुँदैछन् ।

एपिएफ र मधेस प्रदेश बीचको खेल निकै रोमाञ्चक तथा प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । एपिएफका कप्तान तथा राष्ट्रिय पुरुष टोलीका कप्तानसमेत रहनुभएका रोहित कुमार पौडेलले आफु लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो पटक खेल्न लागेकाले आफु निकै उत्साहित भएको बताउनुभएको छ ।

रंगशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमा एपिएफका कप्तान पौडेलले नयाँ खेल मैदानमा खेल्न थालेकाले आफुहरुले सकेसम्म राम्रो क्रिकेट खेलेर जित्ने बताउनुभयो । ‘विकेट कस्तो खेल्छ, पिचमा पुगेपछि थाहा होला तर हामी राम्रो क्रिकेट खेल्नेछौँ, एपिएफ सन्तुलित टीम बनेको छ’, कप्तान पौडेलले भन्नुभयो ।

लमहीमा बनेको क्रिकेट रंगशालाको मैदान र पूर्वाधारले आफुलाई निकै उत्साहित बनाएको बताउनुभयो । ‘फिल्ड हेर्दा, प्यारापिट, पूर्वाधार हेर्दा म निकै खुशी छु । नेपालमा यति पूर्वाधार सम्पन्न खेल मैदानमा अझै बनेका छैनन् । यसले घरेलु क्रिकेट प्रतियोगिताका लागि यो निकै राम्रो मैदान बनेको पाएको छु । यसले भोलिका दिनमा खेल आयोजनासँगै खेलाडी उत्पादनमा भुमिका खेल्नेछ’ कप्तान पौडेलले भन्नुभयो ‘हामीले पिएम कपबाट नयाँ खेलाडी उत्पादन हुने आशा गरेका छौँ । उमेर समुहबाट प्रतिभावना खेलाडी उत्पादन भईरहेको हुँदा पिएम कपमा विभिन्न टीमबाट प्रतियोगिता खेलीरहेका खेलाडीहरुले राष्ट्रिय टीमका पुग्ने अवसर पाउने मौका हुनेछ ।’

मधेश प्रदेशका कप्तान अनिल कुमार साहले यसअघि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आई सकेपनि खेल नखेलेको हुँदा बिहीबार एपीएफसँग हुने खेललाई निकै महत्वका साथ लिएको बताउनुभयो । विगतदेखि विभागीय टीमले घरेलु प्रतियोगिताहरुमा प्रभाव देखाउँदै आएको हुँदा यो पटकको पिएम कपमा मधेश प्रदेशले आफ्नो खेल प्रस्तुत गर्ने बताउनुभयो ।

‘विभागीय टीमसँग खेल्दा प्रदेश टीमको एक खालको प्रेसर त हुन्छ तर हामी सामान्य रुपमा मैदानमा उत्रिएर खेल्नेछौँँ, कप्तान साहले भन्नुभयो ‘भोलि जसले राम्रो क्रिकेट खेल्नेछ, उसैले जित्नेछ ।’ लुम्बिनी प्रदेशमा क्रिकेट पूर्वाधारसँगै प्रतियोगिता हुने क्रम बढेको हुँदा लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भोलिका दिनमा थुप्रै प्रतियोगिताका लागि अवसर सिर्जना गरेको कप्तान साहले बताउनुभयो ।

गत संस्करणको पिएम कपबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टीममा सहभागी हुनु भएका मधेश प्रदेशका कप्तान साहले पिएम कपलाई आफ्नो जीवनको निकै महत्वपूर्ण अवसरका रुपमा लिएको बताउनुभयो । पिएम कपले आफुलाई राष्ट्रिय टीमको ढोका खोलेका हुँदा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । दुवै टीमका कप्तानले खेलप्रमी, समर्थक, दर्शकलगायत सबैलाई रंगशालामा आएर खेल हेर्न र समर्थन गर्न अपिल पनि गर्नुभयो । पहिलो पटक भईरहेको प्रतियोगितालाई सफल बनाउन सबैको साथ चाहिने भन्दै खेलाडीलाई हौसला दिन पनि उहाँहरुले आग्रह गर्नुभयो ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा यी दुई टीमको खेल निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । क्यानले पहिलो पटक काठमाडौँ बाहिर पिएम कप आयोजना गर्दै गर्दा ३ विभागीयसहित सात प्रदेश टीमका खेलाडीले प्रतियोगिता खेलीरहेका छन् ।

फागुन २५ गतेबाट शुरु भएको पिएम कपमा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् । जारी प्रतियोगितामा एपिएफले वाग्मतीलाई हराउँदै २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि कोशी प्रदेशलाई हराउँदै २ अंकका साथ तालिकाको चौथो स्थानमा छ । विभागीय त्रिभुवन आर्मी क्लब २ खेलमा दुई जीतसहित चार अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल पुलिस क्लब पनि दुई खेलमा दुई जीतसहित ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । अहिलेसम्मको खेलमा विभागीय डर्बीकै बर्चश्व देखिएको छ ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । कुल ४६ वटा खेल हुने प्रतियोगितामा हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत लमहीमा १४ वटा खेल हुने तालिका रहेको छ ।

यसैगरी, सिद्धार्थ क्रिकेट रंगशालामा फाईनल खेलसहित १७ वटा खेल हुनेछन् भने एक्स्ट्राटेक ओभल मैदानमा पनि १५ वटा खेल हुनेछन् । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८० मा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।