Ad Area

घोराहीमा खाल्डाखुल्डी पुर्न ५० लाख


दाङ, २० मंसिर । घोराही उपमहानगरपालिकाले कालोपत्रे सडकमा भएका खाल्डाखुल्डीहरु पुर्नका लागि ५० लाख रुपैयाँ यो बर्ष खर्च गर्ने भएको छ । नगर क्षेत्रभित्रका कालोपत्रे सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि बिनियोजन गरेको ५० लाख रुपैयाँबाट अहिले नगर क्षेत्रका विभिन्न सडकहरुमा भएका खाडलहरु पुर्ने काम भइरहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिएका छन् ।

अहिलेसम्म करिब नगर क्षेत्रभित्रका पिच सडकमा भएका खाडलहरु पुर्नका लागि करिब १० लाख बराबर काम भएको उनले बताए । ‘नगर क्षेत्रभित्र पिच सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि ५० लाख रुपैयाँ छुट्याइएको थियो’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने– ‘उक्त रकमबाट अहिले पिच सडकमा भएका खाडलहरु पुर्ने काम भइरहेको छ ।’

उनका अनुसार सडकमा भएका खाल्डाखुल्डीहरु पर्नेदेखि कपितय स्थानमा नाला भत्किएको ठाउँमा बनाउने काम ५० लाख बजेटबाटै हुने बताए । यो बजेटबाट ठूला खाडलहरु भन्दा पनि नगर क्षेत्रका सडकहरु बिग्रिएर बनेका खाडल तथा नालाहरु पुर्ने काम हुने र त्यसले मानिसहरुसँगै सवारी साधनमा सञ्चालनमा सहजता होस् भन्ने भएको बताए ।

सहरी क्षेत्रमा विभिन्न ठाउँमा सडकहरु कालोपत्रे उप्किनेदेखि कतिपय ठाउँमा पानी, टेलिकम, विद्युत पोलहरु राख्ने क्रममा बिग्रिएको सडक मर्मतको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले नगरभित्रका सडकहरु कालोपत्रे मर्मतको काम गरिरहेको भए पनि नागरिकहरुले गुणस्तरीय काम नहुँदा बर्षेनी एउटै सडक पिच गर्नुपर्ने अवस्था आउने गरेको बताउने गरेका छन् ।

सडकहरु पिच गर्दा उपमहानगरपालिकाले क्वालिटी मेन्टेनमा ध्यान नदिँदा बर्षेनी सडक मर्मत गर्नुपर्ने र जनताबाट उठाएको करको पैसा खेर जाने गरेको गुनासो रहेको छ ।