Ad Area

किसानको सम्मान बिना देशको विकास असम्भव


घोराही २०, मंसीर । नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले किसानका पक्षमा स्थानीय सरकारले सही ढंगले भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । तरकारी तथा कृषिका क्षेत्रमा केही सम्बोधन गर्न खोजेको जस्तो मानिए पनि पशुपालक व्यवसायीका पक्षमा उदारता देखाउन नसकेको आरोप लगाए ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघ, जिल्ला कार्यसमिति दाङको प्रथम अधिवेशनलाई आईतबार घोराहीमा सम्बोधन गर्दै उनले कृषिको पहुँच, बजारीकरण र कृषकलाई बारम्बार अभिमुखीकरणमा ध्यान दिन राज्यका तीनै तहले कदम चाल्नु पर्ने बताए । कृषि अनुदान वैज्ञानिक नबन्दासम्म यो वास्तविक किसानका लागि आकाशको फल जस्तै हुने भएकाले अहिलेको अनुदान नीति बाख्रापालक कृषकहरुलाई सह्य नहुने चेतावनी दिए । उनले अझै पनि कृषिमा काम गर्ने मानिससँग पर्याप्त जमिन नभएको भन्दै जमीन भएकाहरुले काम नगर्ने हुँदा यसका लागि उपभोगको व्यवस्थापनमा राज्यले स्पष्ट नीति अघि सार्नु पर्ने बताए । दाङमा प्रसस्त जमिन रहेको हुँदा यसलाई व्यवस्थापन गरि अघि बढ्न यहाँका कृषकहरुलाई सुझाव दिँदै उनले कृषिमा वैज्ञानिक विधि भित्र्याउन अपिल गरेका छन् ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका जिल्ला अध्यक्ष खुसल घिमिरेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आआफ्नो धारणा राख्दै बाख्रा पालक कृषकहरुले पशुपालक कृषकहरुलाई राज्यले विभेदकारी नीति ल्याएर मारमा पारेको दुखेसो पोखे । लुम्बिनी प्रदेश पशुपालक संघ संयोजक प्रेम सुवेदीले कृषकको भविष्य अनिश्चित भएकाले लगानीको लाभ लिने अवस्था पनि अनभिज्ञता रहेको बताए । उनका अनुसार कृषकहरुका लागि कुनै पनि निकायले हौसला दिन सकेका छैनन् । कुनै विपद, प्रकोप भएमा कृषकले अस्वाभाविक क्षति व्यहोर्न बाध्य हुँदा पनि किसानको पीडामा मलम लगाउने काम हुन नसकेको भन्दै दुख व्यक्त गरे ।

उनले भने, ‘किसान कहिल्यै सुत्दैन र सुतेको पनि छैन, दिनरात काममा छ, त्यसैले त सबैले मस्त खान पाएका छन् । राजनीतिक दलले जस्तै माग राखेर कुनै दिन किसानले आफ्ना पीडा लिएर सडकमा आन्दोलन गर्न थाल्यो भने देशमा हाहाकार हुन्छ । यसलाई नजरअन्दाज गर्ने काम राज्यले गरेमा देशले नै ठूलो मुल्य चुकाउनु पर्ने उहाको भनाई थियो । जुन देशमा किसानको सम्मान हुँदैन, त्यो देशको विकास हुँदैन । हरेक उपजसँग किसान जोडिन्छ तर त्यहीँ किसान उपेक्षामा छ ’

यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढाईले २०७१ बैशाख १५ गते चितवनमा थालनी भएको संगठनले गति लिदै गएको बताए । देशभरका पालिकामा संगठन बिस्तार भएकाले यसले तीनै तहको सरकारलाई माग सम्बोधनका लागि दवाव सिर्जना गर्न पर्याप्त हुने बताए ।

Blog Post Ad

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख डा. वेदबहादुर केसीले जिल्लामा बाख्राको मासु आयात बिस्थापन गर्दै अघि बढ्ने योजना बनाउन आग्रह गरे । बाख्रापालनका माध्यमबाट प्रसस्त रोजगारी सिर्जना गर्र्न, गरिबी न्यूनीकरण गर्ने लक्ष्यमा अघि बढ्ने काममा लाग्दै जिल्लालाई बाख्रा उत्पादनमा आत्मनिर्भरको बाटोमा अघि बढाउन अपिल गरे । उनले दाङमा कुखुरा बाहेक अरु पशुको श्रोत केन्द्र स्थापना हुन नसकेकाले पशु श्रोत केन्द्रका रुपमा जोड दिने गरी सबै बाख्रापालक कृषकहरुले नीति बनाएर आएमा कार्यालयका तर्फबाट नीतिगत पहल हुने बताए ।

यस्तै, व्यावसासियक बाख्रापालक कृषकहरुका लागि प्रदेश सरकारले दिने सुलभ कर्जामा १ करोडसम्ममा बढीमा ५ प्रतिशतमा व्याज सहजीकरण गर्न सघाउने बताए । उनका अनुसार जिल्लामा गत वर्ष व्यावसायिक कृषकहरुले १६ करोड सहुलियत कर्जा स्वीकृत गरेका थिए । यस्तै, यस वर्ष बाख्रा, पशुचौपायाका लागि १ लाख ३४ हजार पिपिआर खोप आउने बताउनुभयो । विगतमा प्रभावित भएका क्षेत्रलाई प्राथमिकता दिँदै पीपीआर खोप अभियान चल्ने जानकारी दिए ।

कार्यक्रममा घोराही ५ का बाख्रापालक सरद केसीले स्थानीय सरकारको सेवा पाउन कठिन रहेको भन्दै कोटा प्रथाले निकै समस्या हुने गरेको बताए । कतिपय अवस्थामा सेवा सुविधा र सर्तका बारेमा जानकारी नहुने हुँदा घाँस, अनुदान, सेवा लिन अलमलले गर्दा शाखामा धाउँदा धाउँदै समय घर्किने गरेको अुनभव सुनाए ।

तुलसीपुर ५ कुमार भण्डारीले बोयर बाख्राको बिमा अहिले १५ हजार मात्रै हुने हुँदा यसको सीमा बढाउन अपिल गरे । यसअघि ५०–५० को लागतमा रहेको व्यवस्थालाई परिमार्जन गरी ८० प्रतिशत पुर्याईनु राम्रो पक्ष रहेको भन्दै वास्तविक अनुदानका बारेमा अभिमुखीकरण गर्न जरुरी रहेको बताए ।

‘वास्तविक किसानले अनुदान नपाउने तर कागज मिलाउनेले चलाखी गर्दा सबै बाख्रा पालकलाई समस्या भएको छ । यो एकातिरको समस्या हो भने अर्कातिर व्यवसायको प्रवर्द्धनका लागि सहज ऋणको वातावरण नबन्दा काम गर्ने कठिन हुने गरेको छ’ उनले भने, ‘कुनै पसलेले भोलिबाट आम्दानी गर्छ तर बाख्रापालकले लामो समयपछि आम्दानी गर्ने हुँदा त्यही अनुसार ऋणको व्यवस्था गरिदिन ध्यान दिनुपर्छ । किनकी हाम्रो आजको लगानीले भोलिबाट प्रतिफल दिँदैन, समय लाग्छ ।’

तुलसीपुर पशु सेवा शाखा प्रमुख मनोज वलीले समस्याको पहिचान गरि समाधान गर्न सक्ने अवस्थामा जान सकेको खण्डमा कृषकका धेरै जसो समस्या निवारण हुने बताए । पालिका पालिकाका बाख्रापालक कृषक संगठित भईरहेको हुँदा यसबाट अबका दिनमा अधिकतम लाभ लिनका लागि पालिका तथा कृषि सरोकार कार्यालयहरुमा स्वीकृत कार्यक्रम र योजनाका बारेमा चासो राख्नु आग्रह गरे । जिल्लाभरका व्यावसायिक बाख्रापालकहरु सहभागी कार्यक्रममले आगामी दिनका लागि थप नीति तथा कार्यक्रम र नेतृत्व पनि चयन गरेको छ । कार्यक्रमको सहजीकरण जिल्ला महासंघका दिपेन्द्र वलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad