Ad Area

घोराहीका महिला स्वास्थ्य स्वयंसेविकाहरुको निशुल्क बिमा गर्ने तयारी


घोराही २०, मंसीर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । कोरोना महामारी उत्कर्षमा रहेका बेलामा जीउज्यानको परवाह नगरी नागरिकको सेवामा निस्वार्थ भावनाले खटिएका सबै महिला स्वास्थ्य स्वयंसेविकाको पवित्र कार्य नमूनायोग्य रहेको भन्दै प्रशंसा व्यक्त गरे ।

‘स्वस्थ जीवनशैली हाम्रो आवश्यकता, संकट न्यूनीकरणमा महिला स्वास्थ्य स्वयंसेविका’ भन्ने मूल नाराका साथ मनाइएको १८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसलाई घोराहीमा आईतबार सम्बोधन गर्दै महिला उनले स्वास्थ्य स्वयंसेविकाहरुको कामले नै उपमहानगरले स्वास्थ्यका क्षेत्रमा उपलब्धी हासिल गर्न सफल भएको बताए । कोरोना कालमा नगरबासीहरुको सेवामा खटिँदा होस् वा महिला बालबालिकाहरुको नियमित खोप अभियान, गर्भ परिक्षण, सचेतनाका कार्यक्रममा उत्साहका साथ गरिएको कामले नगरबासीको स्वास्थ्य सुरक्षामा सफलता हासिल गरेको बताए ।

सकारात्मक बनेर काम गर्दै नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिएका स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षाका लागि निशुल्क बिमाको प्रवन्ध गर्न नीतिगत निर्णय आवश्यक पर्ने हुँदा आगामी नगर सभामा आफुले महिला स्वास्थ्य स्वयंसेविकाहरुको निशुल्क बिमाको ड्राफ्ट पेश गर्ने वचन दिएका छन् । यस्तै, विभिन्न खालका सेवा सुविधाका लागि उठेका जिज्ञासाको नगरसभाबाट सम्बोधन गराउने उनको प्रतिवद्धता थियो ।

महिला स्वास्थ्य स्वयंसेविका पालिका अध्यक्ष बिना खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले विपदको बेलामा पनि निस्वार्थ भावले महिला स्वास्थ्य स्वयंसेविकाहरुले देखाएको कामको कौशलताले पालिकालाई थप संकट हुनबाट जोगाउन सकिएको बताए । स्वयंसेवाको भावलाई थप बिस्तार गर्न र स्तरीय स्वास्थ्य सेवाका लागि पटक पटक अभिमुखीकरण गर्ने, हौसला बढाउन तालिम गोष्ठीको आयोजना गर्ने, महिला बालबालिकालाई महामारीजन्य रोग नियन्त्रण गर्न सचेतना प्रदान गर्नेलगायतका कार्यक्रम भईरहेको बताए ।

कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले विपदका बेलामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिका जति प्रशंसा गरेपनि कम हुने बताए । आगामी दिनमा पनि यस्तै प्रकारको भूमिकाको अपेक्षा नगरले राखेको उनको भनाई थियो ।

Blog Post Ad

यसैगरी, अधिकारकर्मी हुमा डिसीले महिला स्वास्थ्य स्वयंसेविकाहरु स्वयम् सेवी भएकाले उनीहरु ६० वर्ष पश्चात् अवकाशमा जाँदा के गर्ने भन्ने बारे राज्यले सम्बोधन गर्नुपर्ने बताईन् । उनले जीवनको उर्जावान समय खर्चेर नागरिकको सेवामा खटिएकाले अवकाश पश्चात कम्तिमा केही राहतको व्यवस्था हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका कार्यसमिति जिल्ला अध्यक्ष विष्णु भण्डारी, परिवार नियोजन प्रमुख खिमेन्द्र शाक्य, उपमहानगरका बिमा शाखाका गोपीलाल वली, कोषाध्यक्ष शान्ता केसीलगायतले बोलेका थिए । नगरपालिका स्वास्थ्य स्वयंसेविका पालिका कार्यसमिति र स्वास्थ्य प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा पालिकाभरका सबै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य क्षेत्रमा प्रतिनिधि, वडाका वडा अध्यक्षलगायतको उपस्थिती थियो । पालिका स्तरीय महिला स्वाथ्य स्वयंसेविका कार्यसमिति उपाध्यक्ष माया चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवा खनालले गरेकी थिईन् ।

१९ महिला स्वास्थ्य स्वयंसेविकासहित ५ आमा समुह सम्मानित

१८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भमा घोराही उपमहानगरपालिकाले पालिकाभरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई हौसला प्रदान गर्न हरेक वडाबाट एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र उत्कृष्ट आमा समुहलाई आईतबार विशेष सम्मान गरेको छ । पालिकाका १९ वटै वडाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेसविकाहरु सम्मानित भएका हुन् ।

नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो । वडागत रुपमा सम्मानित हुने महिला स्वाथ्य स्वंसेविकाहरुमा वडा नम्बर १ बाट तारा सुवेदी, वडा नम्बर २ बाट बालिका पोख्रेल, वडा नम्बर ३ बाट जानका अधिकारी, वडा नम्बर ४ बाट कमलादेवी शर्मा, वडा नम्बर ५ बाट निर्मला डिसी, वडा नम्बर ६ बाट गोमा केसी खनाल, वडा नम्बर ७ बाट गिता चौधरी, वडा नम्बर ८ बाट खिमा चौधरी, वडा नम्बर ९ बाट नोखा केसी, वडा नम्बर १० बाट तिला बस्नेत रहेकी छिन् ।

यसैगरी, सम्मानित हुनेहरुमा वडा नम्बर ११ बाट लक्ष्मी देवकोटा, वडा नम्बर १२ बाट देवा पुरी, वडा नम्बर १३ बाट अम्बि बिक, वडा नम्बर १४ बाट रिता थापा, वडा नम्बर १५ बाट नितु जिसी काजल, वडा नम्बर १६ बाट देवा केसी, वडा नम्बर १७ बाट निरु आचार्य, वडा नम्बर १८ बाट विष्णा आचार्य र वडा नम्बर १९ बाट मनकुमारी राना रहेका छन् ।

यसैगरी, पालिकाभरका आमा समुहमध्येबाट उत्कृष्ट ५ वटा आमा समुहलाई पनि विशेष सम्मान गरिएको छ । पालिका भरका कु्ल २ सय ३२ वटा समुहमध्ये गोला प्रथाबाट छनौट भएका घोराही ६ को झरना आमा समूह, घोराही ७ को लाली गुराँस आमा समूह, घोराही ८ को दुन्द्रा स्वास्थ्य आमा समूह, घोराही १३ को सहिद रामपुरा आमा समूह र घोराही १७ को मनकामना आमा समूहलाई विशेष सम्मान गरिएको छ ।

पालिकामा हाल २ सय ३२ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । यस्तै, पालिकाले महिला स्वाथ्य स्ववयंसेविका दिवसको अवसर पारेर एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई मरणोपरान्त सम्मान गरेको छ । २०७८ भदौ १६ गते सिस्ने खोलामा आएको बाढीमा बगेर दिवंगत भएकी राधा कुँवर श्रेष्ठलाई नगद २० हजारसहित मरणोपरान्त विशेष सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए ।

Blog Post Ad Blog Post Ad