प्राङ्गारिक मल उत्पादनमा वन समूह

घोराही,२० वैशाख । दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन् । वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले पछिल्लो समय पर्यटन क्षेत्र निर्माणसँगै जंगलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आयआर्जन गर्न थालेका हुन् ।
दाङको लमही नगरपालिका–५ स्थीत अजम्बरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस, स्याउला सोत्तरलाई उपयोग गरेर गतबर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालेको अजम्बरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभएको छ ।
अध्यक्ष रिजालका अनुसार पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताउनुभयो । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको भन्दै अध्यक्ष रिजालले भन्नुभयोे,‘वन क्षेत्रमा खेर जाने पातपतिङ्गरलाई सदुपयोग गर्दै प्राङ्गारिक मल उत्पादनमा जोडिएका छौँ । यसले सुक्का समयमा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा समेत सहयोग गरेको छ ।’ सुक्का समयसँगै अन्य वनहरुमा आगलागी भएपनि अजम्वरी सामुदायिक वन क्षेत्रमा लागेको छैन ।
वन व्यवस्थापनमा आधारित कार्यक्रमअन्तर्गत समुदायिक वन अध्ययन केन्द्रले प्राङ्गारिक मल उत्पादनका लागि औजारहरु सहयोग गरेपछि वन समूह मल उत्पादनमा जुटेको बताउनुहुन्छ । वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारी समेत प्राप्त गर्नुभएको छ ।
वन जंगलमा सुकेको पातपतिङ्गरसँगै गाईभैँसीको गोबर संकलन गरेर प्राङ्गारिक मल उत्पादनका लागि स्थानीयलाई रोजगराी मिलेको अध्यक्ष रिजालले बताउनुभयो । अध्यक्ष रिजालका अनुसार वन समूहले प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई बिक्री गर्ने गरि काम सुरु गरेपनि अहिले थोरै उत्पादन भएको र उक्त मल वन समूहले सञ्चालन गरेको हरित पार्कमा विरुवाहरु हुर्काउन प्रयोग गरिएको बताउनुभएको छ ।
वन व्यवस्थापन कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनसँगै पछिल्लो समय जंगलमा खेर जाने घाँस र पातपतिङ्गरलाई सदुपयोग गरेर प्राङ्गरिक मल उत्पादन गरेर अजम्वरी सामुदायिक वन समूहले नमूना काम गरिरहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभएको छ । वन समूहको मल उत्पादन गर्ने कार्यले पातपतिङ्गरको व्यवस्थापनसँगै वन समूहलाई आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।
प्राङ्गारिक मल तयार गर्नका लागि आवश्यक गोबरको जोहोका लागि छाडा चौपाया व्यवस्थापन समेत गरिएको मल उत्पादन सम्वन्धी काम गर्दै आउनुभएका लमही नगरपालिका–५लमही निवासी मैते पुन बताउनुहुन्छ ।