Ad Area

विद्यार्थीको खुँडा प्रहारबाट शिक्षक घाइते


तुलसीपुर,१९ वैशाख । दाङको तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट शुक्रबार एक शिक्षक घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर–६ रजौराका ३७ वर्षीय विशेष श्रेष्ठमाथि स्कुल परिसरभित्रै खुँडा प्रहार भएको हो ।

१२ कक्षामा अध्ययनरत तुलसीपुर–४ रक्षाचौरका १८ वर्षीय सुरेश सुनारले एक्कासी धारिलो खुँडा प्रहार गरी शिक्षकलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिएका छन् ।

केही दिनअघि शिक्षकले कुटेको भन्दै विद्यार्थीले बदला लिन खुँडा प्रहार गरेको बुझिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घट्ना बिहान साढे १० बजेको समयमा भएको थियो ।

विद्यार्थीले स्कुलभित्र प्रवेश गरेर एक्कासी श्रेष्ठमाथि खुडा प्रहार गरेका थिए । खुडा प्रहारबाट श्रेष्ठको बाया कुम र दुबै हातको पाखुरामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।