महिलाहरुमा सीपमार्फत आत्मविश्वास जगाउँदै मुक्त कमलरी विकास मञ्च

घोराही, २७ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १२ डाँडागाउँकी २५ वर्षीया वर्षा चौधरी मुक्त कमलरी विकास मञ्चले गठन गरेको परिवर्तनशील महिला कृषक समूहमा आवद्ध भएको १ वर्ष भयो । समुहकी सदस्य वर्षा घरमा कृषि कामसँगै सुँगुर पाल्दै आउनु भएको छ । समुहमा आवद्ध भएपछि अहिले नियमित मासिक वचतसँगै कृषि कर्मका बारेमा जानकारी लिने क्षमता बढाउने काम गर्दै आउनु भएको छ ।
मुक्त कमलरी विकास मञ्चले संचालन गरेको दोस्रो चरणको मुक्त कमलरी सशक्तीकरण परियोजना अन्तरगत उहाँ अहिले व्यवसाय शुरुवात तथा व्यावसायिक क्षमता विकास तालिममा सहभागी भएपछि सुँगुरपालनलाई प्राथमिकता दिएर काम गर्ने योजना बनाउनुभएको छ । ‘सुँगुरपालनलाई व्यावसायिक रुपमा अघि बढाउने योजना बनाएको छु, सीपमुलक तालिमले मलाई धेरै कुरा बुझ्न सहज भयो’, उहाँले भन्नुभयो ।
घोराही १२ हापुर बिजौरीकी रमा चौधरी अहिले २९ वर्षको हुनुभयो । उहाँ पनि गाउँको एकजना दिदीको पहलमा मुक्त कमलरी विकास मञ्चले संचालन गरेको मुक्त कमलरी सशक्तीकरण परियोजनामार्फत गठित समुहमा जोडिनु भएको छ । डाँफे पशुपालन महिला समुहमा आवद्ध उहाँले कृषिसँगै बाख्रा पालन पनि गर्दै आउनुभएको छ ।
आफ्नो व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पाँच दिने तालिममा सहभागी भएर रमाले धेरै कुरा सिकेको बताउनुहुन्छ । अब उहाँले बाख्रापालन पेशालाई व्यावसायिक बनाउने लक्ष्य लिनु भएको छ । घोराही १२ बटोलपुरकी ४१ वर्षीया रमिता चौधरी मुक्त कमलरी हुनुहुन्छ । उहाँ अहिले आफुलाई आत्मनिर्भर बनाउन प्रयासरत हुनुहुन्छ ।
त्रिवेणी महिला कृषक समूहको सदस्यसमेत रहनु भएकी रमिताले किराना तथा नास्ता पसल संचालन गर्नुभएको छ । समुहमा आवद्ध भएपछि परियोजनामार्फत घुम्ती कोषवापत ३० हजार रुपैयाँ लिएर अहिले व्यवसाय बढाउनु भएको छ । पहिले नास्ता बनाउने तालिम लिएर सामग्री पनि निशुल्क पाएको बताउँदै उहाँले किराना पसलसँगै नास्ता पसलबाट राम्रो आम्दानी गरिरहेको बताउनुहुन्छ । ‘बटोलपुर चोकमा पसल छ । राम्रो चल्छ । अहिले फेरी तालिम लिएर व्यावसायिक योजना बनाउन सजिलो भएको छ । यसले आत्मविश्वास पनि बढेको छ’ उहाँले भन्नुभयो ।
तुलसीपुर १५ दक्षिण कुरुरियाकी ५५ वर्षकी जोखनिया चौधरीले जीवनमा धेरै दुख कष्ट सहनु भयो । अहिले समुहमा आवद्ध भएपछि धेरै कुरा जान्ने, बुझ्ने र सिक्ने अवसर पाउनु भएको छ । हरियाली उत्पादन महिला कृषक समूह सदस्य जोखनियाले तालिममा सिकेको ज्ञानबाट तरकारी खेती गर्दैै आम्दानी बढाउने योजना बनाउनु भएको छ ।
अब समुहबाट अब घुम्ती कोष लिएर तरकारीको बिउबिजन किन्ने र व्यावसायिक तरकारी उत्पादन गर्ने सोँच बनाएको उहाँ बताउनुहुन्छ ।
उहाँहरु जस्तै महिलाहरुलाई एकै थलोमा राखेर मुक्त कमलरी विकास मञ्चले परियोजनामार्फत सीप तथा क्षमता विकास तालिम दिएको छ । मुक्त कमलरी, सिमान्तकृत, जनजाति, हिंसा पीडित, एकल महिलाहरुको उत्थानका लागि आयआर्जनमा आधारित कार्यक्रम गर्दै आएको मुक्त कमलरी विकास मञ्चले धेरैको जीवनमा बदलाव ल्याउन सफल भएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष हीरामोती चौधरीले बताउनुभयो ।
समुहमा आवद्ध लक्षित महिला तथा युवा क्लबका सदस्यहरुलाई आफ्नो व्यवसाय शुरु तथा सुधार सम्बन्धि ५ दिने तालिम दिएर भोलिका दिनमा उनीहरुबाट नतिजा आउने गरी प्रयास गरिएको उहाँले बताउनुभयो ।
मुक्त कमलरी विकास मञ्चको आयोजनामा मुक्त कमलरी सशक्तीकरण परियोजनाको दोस्रो चरण अन्तरगत परियोजना लागू भएको घोराही, तुलसीपुर र लमहीका कृषक तथा पशुपालक समुहमा आवद्ध सदस्यहरुलाई व्यवसाय शुरु तथा सुधार सम्बन्धि तालिम दिईएको हो ।
लमही क्षेत्रबाट ५ जना, घोराही क्षेत्रबाट ६ जना र तुलसीपुर क्षेत्रबाट १८ जना गरी २९ जना कृषक तथा पशुपालकहरुलाई उनीहरुको क्षमता विकाससँगै गर्दै आएको काममा थप सुधार ल्याउन तालिम प्रदान गरिएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
व्यवसायको शुरुवात गर्दा अपनाउनु पर्ने सावधानी, पूर्व तयारी र ज्ञान आवश्यक पर्ने हुँदा परियोजनामार्फत आवद्ध सदस्यहरुलाई व्यवसाय शुरु तथा सुधार सम्बन्धि तालिम दिइएको उहाँले बताउनुभयो । तालिमको प्रशिक्षकमा घोराही उपमहानगरपालिकाका उद्योग व्यवसाय प्रवद्र्धन शाखाका चन्द्र बुढा र सोसेक नेपालका द्रोर्ण जिसी रहनु भएको थियो ।
कमलरी सशक्तीकरण परियोजनाले परियोजना लागु भएको घोराहीमा २० वटा समूह, लमहीमा १० वटा समुह र तुलसीपुरमा १० वटा समुह गरी ४० समुहमार्फत कार्यक्रम गर्दै आएको छ । २०२१ देखि लागू भएको उक्त परियोजनाबाट हालसम्म १२ सय बढी लाभान्वित भएका मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।