Ad Area

सुदृढ गणतन्त्रका लागि राजनीतिक दलहरुको कार्यशैली सच्चिनुपर्ने


घोराही, २७ बैशाख । राष्ट्रिय जनमोर्चा दाङले वर्तमान राजनीतिक अवस्था र गणतन्त्र रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा सहभागी वक्ताहरुले नेपालमा गणतन्त्र व्यवस्था अरुबाट नभई राजनीतिक दलहरुको कार्यशैलीका कारण खतरामा परेको तर्क गरेका छन् ।

कार्यक्रममा प्रदेश अध्यक्ष खत्रीले लामो संघर्ष, त्याग, तपस्या र बलिदानीपछि प्राप्त गणतन्त्र संस्थागत गर्दै जनतामा आशा र विश्वास जगाउन गणतन्त्र रक्षा गर्न सबै एक ठाउँमा उभिनु अपरिहार्य रहेको बताउनुभयो । संविधान जारी भएको एक दशकको बीचमा राजनीतिक दलहरुबाट लोकतन्त्रमाथि लगातार सौदाबाजी हुँदा गणतन्त्र कमजोर बनाउने खेल भएको भन्दै यस विरुद्ध जनताको खबरदारी आवश्यक रहेको उहाँको जोड थियो ।

राजनीतिक नेतृत्वले देश र जनतालाई सर्वोपरी ठानेर काम नगर्दा संविधान जारी भएको एक दशकमा पनि देशमा आशा जगाउने काममै संघर्ष भईरहेको मसालका प्रवक्ता भरत भण्डारीले बताउनुभयो ।

जनताको कमजोर चेतनाको फाईदा उठाउँदै प्रतिगामीहरु गणतन्त्र पक्षधरमाथि धावा बोल्ने काम अहिले हुन थालेको भन्दै गणतन्त्र रक्षाका लागि राजनीतिक विमति भएका शक्तिहरु पनि अब एक ठाउँमा उभिनु पर्ने बेला आएको नेकपा एमाले लेखा आयोग सदस्य रेवतीरमण शर्माले बताउनुभयो ।

नेपालमा जनवादी गणतन्त्र चाहिएको भएपनि त्योे भन्दा अघि देशमा गणतन्त्र संस्थागत गर्न सबैले ध्यान दिन जरुरी रहेको वक्ताहरुले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति वीरकेशरी गौतम, माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, क्रान्तिकारी कम्युनिस्ट माओवादीका पोलिट व्युरो सदस्य समीर केसी, नेपाल कम्युनिस्ट पार्टी विप्लबका पाटन सी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाज दाङका पूर्व अध्यक्ष चन्द्रराज पन्त, जिल्ला बार एशोसियसनका उपाध्यक्ष नुमानन्द आचार्यलगायत बोल्नु भएको थियो ।

अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले विषय प्रवेश गराउनु भएको कार्यक्रममा जिल्ला सदस्य कपिलदेव खनालको स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएमले गर्नुभएको थियो ।