सिकलसेल प्रभावितलाई मनोसामाजिक परामर्श

पार्वती बस्नेत
दाङ, ३० वैशाख । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल प्रभावितलाई लक्षित गर्दै मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
लमही नगरपालिका–७ कप्तानगन्जमा कार्यक्रमको आयोजना गरेर ७८ जना सिकलसेल प्रभावितलाई मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण दिइएको हो । ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका टेक्निकल प्रमुख एवम् सिकलसेलका फोकल पर्सन उज्ज्वल पौडेलले सहजीकरण गरेका थिए ।
उनले प्रभावितलाई सिकलसेल रोग के हो, कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्नेबारे जानकारी गराउनुका साथै मनोबल बढाउने उपाय सिकाएका थिए । कार्यक्रममा पौडेलले विवाहअघि ‘विवाह कुण्डली’ परीक्षण अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै रोग नियन्त्रणका लागि यसलाई प्रभावकारी माध्यमको रूपमा प्रयोग गर्न आग्रह गरेका थिए ।
सिकलसेल प्रभावितलाई सफा पानी, सन्तुलित खानपान, नियमित स्वास्थ्य परीक्षणलगायतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा सहभागीलाई समूहगत रूपमा विभाजन गरी ६÷६ जनाको समूहमा मनोसामाजिक परामर्श प्रदान गरिएको थियो । कार्यक्रम मेटलाइफ नेपालको आर्थिक सहयोग, दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको समन्वय तथा ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले संस्थाले महिलाको स्वास्थ्य, हिंसा तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा कार्य गर्दै आएको बताउँदै सिकलसेल रोग पहिचान तथा सचेतना अभिवृद्धिका लागि सञ्चालन गरिएको यो कार्यक्रम सरकारलाई समेत उत्तरदायी बनाउन सफल भएको बताएकी थिइन् ।
गत वर्षदेखि मेटलाइफ नेपालसँगको सहकार्यमा थारू समुदायमा बढी देखिएको सिकलसेल रोग पहिचानका लागि शिविर तथा सिपमूलक तालिम सञ्चालन भइरहेको र यस वर्ष दाङ र बाँकेमा शिविरको आयोजना गरेर परीक्षण गरिएका पाँच सय ७४ जनामध्ये ७८ जना प्रभावित भेटिएको जानकारी दिएकी थिइन् ।
दिपन सामाजिक उद्यमी महिला सहकारीकी उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थागत प्रस्तुतीकरण मिरा चौधरीले जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण सूचना अधिकृत पार्वती बस्नेतले गरेकी थिइन् ।