राप्तीमा फोहोरबाट टायल र इन्टरलक उत्पादन

दाङ, ३० वैशाख । राप्ती गाउँपालिकामा फोहोरबाट टायल र इन्टरलक उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।
प्लास्टिकजन्य फोहोरबाट मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न थालिएको छ । फोहोरलाई व्यवस्थापन गरेर गल्ने फोहोरबाट टायल, इन्टरलकलगायतका सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरी बताउँछन् । सुपरभाइजर चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायतका प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको बताए ।
सुपरभाइजर चौधरीले भने, ‘परीक्षणका रूपमा उत्पादन गरिसकेका छौँ । उत्पादन राम्रो निस्किएको छ तर प्लास्टिकलाई पगालेर गोलो बनाउने मेसिन अझै आई नपुग्दा नियमित उत्पादन गर्न सकेका छैनौँ । चाँडै काम गर्नका लागि एग्लो मेसिन आउँँदैछ । उक्त मेसिन आइपुग्यो भने नियमित उत्पादन हुन्छ ।’ उत्पादन भएको टायल प्रतिपिस ३५ रुपैयाँका दरले बिक्री हुने र गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको उनले बताए । फोहोरबाट टायल उत्पादन गर्न थालेपछि खरिदका लागि मानिसहरू आउने गरे पनि नियमित नहुँदा आपूmहरूले अर्डर लिन नसकेको चौधरीले बताए ।
उनका अनुसार पूर्णवातावरणमैत्री, घाम र पानीले वर्षौँसम्म केही गर्न नसक्ने र ३३ सय टन भारवहन क्षमता भएका घरदेखि सरकारी कार्यालय एवम् पार्कहरूमा प्रयोग गर्न सकिने छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा फोहोरलाई मोहरमा बदल्ने गाउँपालिकाको उद्देश्यले इको फ्यामिली प्रालिसँग सम्झौता गरेर टायल, इन्टरलकलगायतका सामग्री उत्पादन गर्न थालिएको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी बताउँछिन ।
गाउँपालिकाले फोहोर सङ्कलन गरेर सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रसम्म पु¥याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम इको फ्यामिली प्रालिले गर्ने उपाध्यक्ष चौधरीले बताइन् । गल्ने फोहोर प्लास्टिकबाट टायल, इन्टरलक, टाँकलगायतका सामग्रीसहित जैविकवस्तुबाट मल उत्पादन गर्ने गरी २०७९ भदौमा सम्झौता भएको थियो ।
स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादन थालेको भन्दै उपाध्यक्ष चौधरीले भनिन्, ‘प्लास्टिकबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न सुरु भएको छ । यसले फोहोर व्यवस्थापनमा सहयोग गरेको छ ।’ गाउँपालिकाले सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्र स्थापनासँगै फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादनका लागि दुई करोड २० लाख रुपैयाँ बढी लगानी गरिसकेको छ ।
उक्त रकमबाट जग्गा तारबार गर्नेदेखि प्लास्टिक टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्ने दुईवटा घर निर्माण गरिएको छ । कम्पनीले टायल, इन्टरलक इँटा, टाँक र मल बनाउन प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको उपाध्यक्ष चौधरीले बताइन् । नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्याक्टर फोहोर सङ्कलन हुने गरेको खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरी बताइन् । उनका अनुसार फोहोर सङ्कलनदेखि वर्गीकरणसम्मको काम गर्न १८ जनाले रोजगारी पाएका छन् । जसमा आठ जना इको फ्याम्ली प्रालि र १० जना गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको शाखा प्रमुख चौधरीले जानकारी दिएकी छिन् ।