Ad Area

भिआइए स्क्रिनिङमार्फत महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउँदै घोराही


छबि पुरी
घोराही, ४ जेठ । घरछेउँमा स्वास्थ्य शिविरबाट प्रजनन् स्वास्थ्य सम्बन्धी निशुल्क सेवा पाउँदा हर्नोकका स्थानीय महिला लाभान्वित भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोकमा प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत जनस्वास्थ्य प्रवद्र्धन शाखाले आईतबार भिआइए स्क्रिनिङ शिविर गरेर सेवा दिएपछि उनीहरु लाभान्वित मात्रै भएका छैनन्, वर्षौसम्म रोग लुकाएर बसेकाहरुले सहज रुपमा सेवा पाएपछि स्वास्थ्य लाभ पनि लिएका छन् ।

शिविरमा सेवा लिन आएका ५८ जना महिलाहरुको भिआइए स्क्रिनिङ गर्दा २ जनामा पाठेघरको मुखको क्यान्सरको शंका गरिएको छ । यसैगरी, १२ जनाको पाठेघर बाहिर सरेको फेला परेको छ । २ जना महिलाको पाठेघरमा रिंग प्रेसरी राखिएको छ भने अन्य थुप्रै महिलाहरुमा यौन तथा छाला सम्बन्धी रोग पहिचान गरी औषधी उपचार गरिएको छ ।

सेवा लिन आएका महिलाहरुमा महिनावारी गडबडी, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएको भिआइए फोकल पर्सन बिमला पौडेलले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ काउलेकी ३० वर्षीया गिता गिरीले पहिलो पटक पाठेघर जचाउन आएको बताउनुभयो । उहाँले अहिलेसम्म आफ्नो प्रजनन् अंग जाँच नगराएको बताउँदै गाउँघरमा पालिकाले दिएको सेवा लिएर ढुक्क भएको बताउनुभयो ।

हर्नोककी शारदा सेढाई अहिले ५० वर्षको पुग्नु भयो । उहाँपूर्व स्वयंसेविका पनि हुनुहुन्छ । गाउँमा महिलाहरुमा प्रजनन् स्वास्थ्यका बारेमा खुलेर कुरा गर्ने बानी नहुँदा रोग पालेर बस्ने गरेका बताउनुभयो । सोही ठाउँकी अर्का दिपा पुनले आफु अहिले ५२ वर्षको भई सक्दा पनि पाठेघर परिक्षण नगराएको बताउनुभयो । पहिलो पटक पाठेघरको मुखको भिआईए स्क्रिनिङ गर्न आएको बताउनुभयो ।

काउलेकी अर्की एक महिलालाई लामो समयदेखि पेट दुख्ने समस्या थियो । लामो समयदेखि पेट दुखिरहदा पनि उपचारका लागि जान पाउनु भएको थिएन । उहाँ उपचारका लागि नजानुको मुख्य कारण लाज थियो । तर, छिकेमीले सँगै लिएर आएपछि उहाँले पनि स्वास्थ्य परिक्षण गराउनु भएको छ ।

पेट दुखेर हैरान हुँदा पनि आफूलाई परेको समस्या भन्न नसक्दा रोग पालेर बस्ने गरेको उहाँले बताउनुभयो । विकट बस्तीबाट आएका महिलाहरुले शिविरमा स्वास्थ्य परिक्षण गरेर औषधी उपचार गरिएको छ । कम उमेरका महिलामा पनि सेतो पानी बग्ने र तल्लो पेट दुख्ने समस्या बढी देखिएको तथा माथिल्लो उमेरका महिलामा अलि जटिल खालका समस्याहरु देखिएको परिक्षणमा खटिनुभएकी घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले बताउनुभयो ।

भिआईए स्क्रिनिङ गर्नुअघि औपचारिक कार्यक्रम गरेर शिविरको उदघाटन गरिएको थियो । वडा नम्बर १ का वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक राममणि पाण्डेको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी शिविर संचालन गर्नुको उद्देश्यबारे जानकारी गराईएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख डिसीले कोही कसैले पनि रोग लागेर धन सम्पत्ति पनि सकिने अनि बिरामी पनि नबच्ने अवस्था अन्त्य गर्न समुदायमा बढ्दो प्रजनन स्वास्थ्य समस्या समाधान गर्न योे अभियान चलाएको बताउनुभयो ।

अभियान चलाउनु अघि पालिकामा दैनिक जसो ३ देखि ५ जनासम्म पाठेघर क्यान्सरका बिरामी सिफारिस लिन आउने गरेको स्मरण गर्दै महिलाहरुमा बढ्दो स्वास्थ्य समस्या समाधान गर्न आफुले प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत भिआइए स्क्रिनिङ अभियान चलाएको बताउनुभयो ।

यसबाट महिलाहरुले लाभ लिँदै गएको र अहिले क्यान्सरको सिफारिस अनुपात घटेको बताउनुभयो । यो अभियान गाउँ बस्ती अनि घर घरमा पुर्याउन पालिकाले प्रयास जारी राखेको भन्दै हरेकले शरीरको बाहिरी सरसफाइ जस्तै शरिरका भित्री सरसफाइ पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

आफु निर्वाचित भएर आएपछि महिलाहरुको प्रजनन् स्वास्थ्य सुधारका लागि अभियान चलाएर अहिलेसम्म १२ हजार बढीलाई सेवा दिन सफल भएको बताउनुभयो । उहाँका अनुसार, शिविरमार्फत गरिएको भिआईए स्क्रिनिङबाट २ सय ५० जना महिलाहरुमा क्यान्सरको लक्षण पहिचान गरी उपचार गरिएको बताउनुभयो । यो बीचमा पाठेघरको मुखको क्यान्सरका कारण ६ जनाको मृत्यु भएको पनि जानकारी गराउनुभयो । ‘निशुल्क रुपमा दिईने यो सेवाले महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन सहयोग गरेको छ’, उहाँले भन्नुभयो ‘कोही पनि महिला प्रजनन् स्वास्थ्यमा समस्या भएर अकालमा मर्न नपरोस् भनेर घोराही उपमहानगरपालिकाले महिलाहरुका लागि यो कार्यक्रम गरिरहेको छ ।’

उहाँले २०८० मंसिर महिनादेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रत्येक बिहीबार पाठेघरको भिआइए परिक्षण शुरु गरेको बताउनुभयो । जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले महिलाको प्रजनन स्वास्थ्यमा पहुँच नपुग्दा समस्या बढ्दै गएको भन्दै यो अभियानबाट स्वास्थ्य सेवा दिइने गरिएको बताउनुभयो ।

महिलाहरुमा लजाउने, संक्रमण हुने र ज्यान जाने गरेको भन्दै पालिकाले यो अभियानको थालनी गरेको भन्दै सबै महिलाहरुलाई सेवाको लाभ उठाउन पनि अपिल गर्नुभयो । निरोगी हुनु हरेकको पहिलो अधिकार भएकाले सबैले स्वास्थ्य सेवा लिन उहाँले आग्रह गर्नुभयो । ‘पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोग लागेर उपचार खोज्ने नभई बेलैमा स्वास्थ्य जाँच गराएर निदान खोज्ने काममा जुट्नुपर्छ । कम्तिमा वर्षमा १ पटक स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ‘यसका लागि हामीले गाउँ बस्तीमा पुगेर शिविर चलाउँदै आएका छौँ भने नियमित रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट साताको बिहीबार भिआईए स्क्रिनिङ गर्दै आएका छौँ ।’

भिआईए स्क्रिनिङमा जनस्वास्थ्य प्रवद्र्धन शाखामा कार्यरत नर्स, स्वास्थ्यकर्मीलगायतले सेवा दिनुभएको हो । कार्यक्रममा वडा सदस्य मदन कुमार न्यौपाने, हर्नाेट टोल विकास संस्थाका अध्यक्ष गोपाल घर्ती, स्थानीय अगुवालगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण काँडाखुटी सहरी स्वास्थ्य केन्द्र प्रमुख बालाराम रोकाले गर्नु भएको थियो ।