Ad Area

भूमे गाउँपालिकामा बृहत यौनिकता शिक्षा कार्यक्रम औपचारिक हस्तान्तरण


रुकुम पूर्व,  ४ जेठ।  नेपाल परिवार नियोजन संघ (FPAN) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को साझेदारीमा सन् २०१८ देखि रुकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित बृहत यौनिकता शिक्षा कार्यक्रम (Comprehensive Sexuality Education – CSE) तथा किशोरमैत्री सूचना केन्द्र (Adolescent Friendly Information Corner – AFIC) आइतबार एक  समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रम भुमे गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत  उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू, AFIC फोकल शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरू, सामाजिक विकास समिति, महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बृहत यौनिकता शिक्षा कार्यक्रम UNFPA को प्राविधिक सहयोगमा र DFAT (अष्ट्रेलियाली सरकारको परराष्ट्र मामिला तथा व्यापार विभाग) को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । जसअन्तर्गत रुकुम पूर्वसहित बझाङ, बैतडी, अछाम र कपिलवस्तु जिल्लाका माध्यमिक विद्यालयहरूमा किशोरमैत्री सूचना केन्द्रहरू स्थापना गरिएका थिए।

AFIC मार्फत किशोर–किशोरीहरूले सुरक्षित र गोप्य वातावरणमा यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, आत्मविश्वास विकास, जीवन उपयोगी सीप तथा व्यक्तिगत सशक्तीकरणका विषयमा जानकारी लिने अवसर पाएका छन्। कार्यक्रमअन्तर्गत शिक्षक, समकक्षीय प्रशिक्षक (peer educators) र AFIC फोकल व्यक्ति प्रशिक्षणप्राप्त गरी किशोरमैत्री शैलीमा शिक्षा प्रदान गर्दै आएका थिए ।

उक्त कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले कार्यक्रमको अवधिभरमा भएका गतिविधि, उपलब्धि र प्रभावबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। उहाँले UNFPA र FPAN को सहकार्यमा सिर्जना गरिएका संरचना र क्षमता अब स्थानीय तहले आफैं सम्हाल्नु पर्ने आवश्यकता औंल्याउनुभयाे ।  उहाँका अनुसार, कार्यक्रम दीगो सञ्चालनका लागि स्थानीय सरकार, विद्यालय र समुदायको सहकार्य अनिवार्य रुपमा भएमा मात्रै विद्यालयस्तरमै यौनिकता शिक्षा र किशोरमैत्री सूचना केन्द्रको विषयलाई संस्थागत गर्न सहज हुने बताउनुभयाे ।

विद्यालयहरूले आफ्नै स्रोत साधन प्रयोग गरी AFIC लाई अझ सशक्त बनाउनका लागि दीर्घकालीन प्रभाव पार्न सक्नुपर्ने बताउनुभयाे । कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधिहरू, प्रधानाध्यापक, AFIC फोकल शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले आगामी दिनमा केन्द्रहरूको निरन्तरता र दीगो सञ्चालन सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

किशोरमैत्री सूचना केन्द्रहरूको दीगो सञ्चालन, प्रभावकारिता र स्थानीय स्वामित्व सुनिश्चित गर्दै शिक्षा र स्वास्थ्य प्रणालीमा समायोजन गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा स्थानीय तह, विद्यालय र समुदायबाट कार्यक्रमप्रति स्वामित्व र जिम्मेवारी विकास गर्न, केन्द्रहरूको दीगो सञ्चालनका लागि स्पष्ट कार्ययोजना र रणनीति निर्माण  गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउन  सहयाेग पुगेकाे बताइएकाे छ ।

यसैगरी, कार्यक्रमलाई स्थानीय सरकारको वार्षिक योजनामा समेट्ने आधार यस कार्यक्रमको हस्तान्तरणले AFIC तथा बृहत यौनिकता शिक्षा कार्यक्रमलाई दीगो रुपमा अगाडि बढाउने दिशामा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।