अम्बिकेश्वरी सार्वजनिक प्रालिद्वारा सुपर लग्जरियस बस सञ्चालन

तुलसीपुर, १२ जेठ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले सुपर लग्जरियस तीनवटा नयाँ बस भित्राएको छ । करिब एक करोड रुपैयाँको हाराहारी मूल्यका तीनवटा बस भित्राएपछि प्रालिले आइतवार बसपार्कमा विधिवत रूपमा बस सेवाको उद्घाटन गरेको छ । नयाँ बसहरूको उद्घाटन नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रिबन काटेर गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले विगतमा आधुनिक बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँदा नगर विसका समितिमा धाएको बताए । उनले आधुनिक बसपार्क निर्माण गर्न नगर विकाससँग कहिले पाँच र कहिले १० करोड माग गर्दै आज आधुनिक बसपार्क बनेको बताएका थिए । देश विकासमा यातायातको धेरै महत्वपूर्ण भूमिका हुने भन्दै पूर्वमुख्यमन्त्री चौधरीले जिल्लाको विकासको सूचक पनि सुविधायुक्त यातायातलाई मान्न सकिने बताए । विगतमा काठमाडौं वा नेपालगन्ज जाँदा कुन बसमा चढ्ने, समयमा पु¥याउँछ कि पु¥याउँदैन भन्ने चिन्ताको विषय हुने बताए ।
पछि नाइट बसहरू चल्न थालेकाले दाङ र राजधानीलाई प्रत्यक्ष जोडेको चौधरीको भनाइ थियो । विद्यार्थी जीवनमा ट्याक्टर चढ्नकै लागि भए पनि खोलामा ढुँगा लोड गर्ने गरेको उनले स्मरण गरेका थिए । बिगतमा बसबाट तुलसीपुर–घोराहीको यात्रा गर्न कम्तिमा दुई घण्टा लाग्ने गरेको तथा भाडा जम्मा तीनदेखि चार रुपैयाँ लाग्ने गरेको भन्दै अहिले सुविधा सम्पन्न बस जिल्लामै भित्रिएकोमा खुसी व्यक्त गरे ।
सुविधायुक्त सेवा प्रवाह गर्ने उद्देश्यले आधुनिक बसमा लगानी गरेर जिल्लाको यातायात क्षेत्र सुधार र जिल्लाको विकासमा भूमिका खेल्ने यातायात व्यवसायीलाई उनले धन्यवाद दिएका थिए । उनले नयाँ बससँगै यात्रुको सुविधा र सुरक्षामा ध्यान दिन समिति र यातायात व्यवसयी समक्ष आग्रह गरे । यत्तिको बस भए आफू पनि अब प्लेन चढ्न नेपालगन्ज नगएरसार्वजनिक यातायातमै काठमाडौं जाने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा आफू तुलसीपुरको प्रमुख प्रशासकीय अधिृकत छँदा २०७४÷०२÷२९ गते आधुनिक बस पार्कको टर्मिनल भवन उद्घाटन गरेको कुरा स्मरण गर्दै यातायात व्यवस्था कार्यालय राप्ती दाङका प्रमुख टोपबहादुर केसीले सुविधायुक्त भवन निर्माण भई त्यसैभित्र कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका संस्थापक अध्यक्ष भरतप्रशाद रेग्मी, यातायात महासंघका केन्द्रीय सल्लाहकार चिन्तामणि आचार्यलगायतले सुविधा सम्पन्न गाडी थपेको संस्थाको थप प्रगतिको कामना गर्दै यात्रुको सेवामा पनि ध्यान दिन आग्रह गरको थिए ।
अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका भीमबहादुर खत्रीले गरेका थिए । कार्यक्रममा पञ्चेबाजासहित नाचगान गरिएको थियो । झन्डै एक करोड मूल्य पर्ने तीनवटा नयाँ गाडी देबहादुर बस्नेत, मिलन लामा र लोकबहादुर डाँगीले किनेको प्रालिले जानकारी दिएको छ । ती व्यवसायीलाई कार्यक्रममा सम्मान गरिएको थियो । पूर्वमुख्यमन्त्री चौधरीसहितका अथितिले बसको निरीक्षक गर्नुका साथै केही बेर बसको सिटमा बसेका थिए । प्रालिका अध्यक्ष बस्नेतका अनुसार हरेक दिन बसको टिकट काटेका मध्यबाट बसभित्रै चिठ्ठा काटिने र चिठ्ठा पर्नेले निःशुल्क यात्रा गर्न पाउने सुविधा थपिएको पनि जानकारी गराएका थिए ।