Ad Area

घोराहीमा फोहोर शून्य बनाउने अभियान


घोराही, २२ मंसिर । घोराही उपमहानगरपालिका जिरो फोहोर बनाउने अभियानमा लागेको छ । नगरका १९ वटै वडाका टोल–टोलमा सरसफाईलाई व्यवस्थित गर्दे फोहोर मुक्त नगर बनाउने अभियान थालिएको हो । जनप्रतिनिधि निर्वाचित भैसकेपछि फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएको नगरले आगामी फागुन अन्तिम सम्म घोराहीलाई पूर्ण सरसफाइ नगर घोषना गरिने निर्णय गरिसकेको छ । जसका लागि तयारी थालिएको सरसफाई तथा फोहोर व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले बताउनुभयो ।

विगतका बर्षहरु देखिनै जनचेतना लगाएतका सरसफाई र फोहोर व्यवस्थापनका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । अभियान अन्तर्रगत मंगलवार पूर्ण सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १९ वटै वडाका सदस्यहरुलाई सहभागि गराइएको थियो । कार्यक्रम सकिए संगै वडा सदस्यले टोल समितिका अध्यक्षलाई सक्रिय बनाउनेछन् । भने टोलका अध्यक्षर्ले सरसफाई व्यवस्थापनमा भूमिका खेल्नुपर्ने छ । जसले पूर्ण सरसफाई नगर घोषना गर्न सहज हुनेछ ।

कार्यक्रममा स्याङजा वालिङका सरसफाई सहजकर्ता कृष्ण भण्डारीले पूर्ण सरसफाई तथा एकिकृत नगरजन्य फोहोरमैला व्यवस्थापन संक्षिप्त परिचय, विधि, र प्रक्रियाका विषयमा सहजीकरण गर्नुभएको थियो । यहाँका अन्य स्थानिय पालिका भन्दा घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा प्राथमिकता दिएको बताउदैँ आगामी दिनमा थप काम गर्न बाँकी रहेको बताउनुभयो ।

नगर क्षेत्रवाट उत्पादन हुने ९५ प्रतिशत फोहोरलाई फेरी प्रयोग गर्न सकिने बताउनुभयो । बाँकी पाँच प्रतिशत काम नलाग्ने फोहोर भने खाल्डा खुल्डी पुर्नका लागि माटोको रुपमा प्रयोग गर्न सकिने जानकारी गराउनुभयो । उत्पादन हुने फोहोर कुनै पनि हालतमा खेर जान दिन नहुने उहाँको भनाई थियो । स्याङजाको वालिङमा गरिएको फोहोर व्यवस्थापनको विषयमा जानकारी गराउदैँ त्यो अभ्यास यहाँ गर्न सकिने बताउनुभयो । फोहोरका रुपमा फालिने वस्तुलाई स्रोतमा परिणत गर्दे रोजगारी सिर्जना गर्ने, र समुदायवाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि व्यवस्थापन विधिहरु मध्ये उपयुक्त विकल्प छनोट गरी कार्यान्वयन गर्ने विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा फोहोर व्यवस्थापन तथा सरसफाइ शाखा संयोजक शक्तिराम डाँगीले घोराही १४ र १५ नम्बर वडामा फोहोर खरिद गर्ने काम सुरु गरिएको जानकारी गराउनुभयो । फोहोर खरिद गर्ने काम गत आर्थिक वर्षवाट सुरु गरिएको हो । उपमहानगरपालिकाले प्लास्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी ५ रुपैयाँ, सूर्तिजन्य प्लास्टिकको फोहर प्रतिकेजी २ रुपैयाँ, गत्ता, कार्पीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको छ । खरिद गरिएको गल्ने फोहरलाई ल्याण्डफिल साइडमा रहेको बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहलाई उद्योगहरूसँंग समन्वय गरेर बिक्री गरिने डाँगीले बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले फोहोरलाई व्यवस्थित गर्न नगरवासीलाई आग्रह गर्नुभयो । गल्ने फोहोर र नगल्ने फोहोरलाई छुट्याउन अनुरोध गर्नुभएको हो । घोराही उपमहानगरपालिका १६ मा बायोग्यास प्लान्टमा दैनिक ३० हजार टन गल्ने फोहोर आवश्यक पर्ने भन्दै उहाँले फोहोरलाई व्यवस्थि तगर्न समस्या नभएको बताउनुभयो । हाल घोराहीमा दैनिक १४ सय टन फोहोर उत्पादन हुने गरेको छ ।

Blog Post Ad

नगर उप–प्रमुख सीता सिग्देल न्यौपानेले घोराहीलाई पूर्ण सरसफाईको बिन्दुमा पु¥याउन सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । आगामी फागुन अन्तिममा घोराहीलाई पूर्ण सरसफाई नगर तथा वालमैत्री नगर घोषनाको तयारी थालिएको हुँदा अभियानमा सबैलाई जोडिन आग्रह गर्नुभयो । नगरवासीले आफ्नो घरवाट सरसफाईको अभियान थाल्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, युगबोध दैनिकका गोविन्द खड्काले अभियानमा पत्रकारिताको क्षेत्रवाट सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रम फोहोर व्यवस्थापन तथा सरसफाई संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने सहजीकरण शाखा प्रमुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad