Ad Area

सामाजिक रुपान्तरणमा ग्रामीण महिला उत्थान केन्द्रको भूमिका अतुलनीय


घोराही २१, मंसीर । आत्मनिर्भर र सशक्त समाज सिर्जनाको परिकल्पनाका साथ स्थापित ग्रामीण महिला उत्थान केन्द्रले आफ्नो २७ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

संस्थाकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता एवं घोराहीका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय घोराहीमा मंगलबार वार्षिकोत्सव मनाईएको हो । सो अवसरमा नगर प्रमुख चौधरीले सामाजिक परिवर्तनका लागि ग्रामीण महिला उत्थान केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले दीर्घकालीन लक्ष्यका साथ अविराम गतिमा अघि बढेको संस्थाले दूरदराजका सिमान्तकृत, मुलधारमा आउन नसकेका, विपन्न वर्गको पहिचान गरी उनीहरुको सामाजिक परिर्वतनमा ठूलो योगदान दिएको बताए । यस्तै, उनले ग्रामीण क्षेत्रमा रहेका निमुखा, विपन्न महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । संस्थाले खेलेको भूमिकाका कारण अहिले धेरैको जीवनमा रुपान्तरण मात्रै नभई देशका लागि सक्षम नागरिक उत्पादनमा सहयोग पुगेको बताए ।

यस्तै, उनले सामाजिक संघ संस्थाहरुको योगदानले नै राज्यको हरेक लक्ष्य प्राप्तिमा टेवा पुगेको बताए । स्थानीय सरकारका काममा पनि संघसंस्थाहरुले सहयोगी भूमिका खेलेको भन्दै यहाँको सम्भावनालाई पहिचान गरी काम सफलतापूर्वक सम्पन्न गराउन खेलेका कारण धेरै सहज भएको बताए । संस्थाले चालेको अभियान जस्तै हरेकले कामलाई सानो वा ठूलो भनेर विभेद नगरी लगनशीलताका साथ दृढ इच्छाशक्ति लिएर काम गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना सहजै पूरा गर्न सकिने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संस्थाले शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक सृदृढिकरणका माध्यमबाट समाज परिर्वतनका लागि २७ वर्षको दौरान ठुलो योगदान गरेको चर्चा गरे । आगामी दिनहरुमा महिला तथा युवाहरुलाई आफ्नै ठाउँमा आत्मनिर्भर र सक्षम बनाउने गरि संस्थालाई काम गर्न उनीहरुको सुझाव थियो ।

कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार सौगतबीर चौधरीले संस्था स्थापनाकालमा देखेका सपना, गरेका कठिन प्रयास र संस्था संचालनका बेलामा भोगेका सुखद दुखद पक्षका बारेमा जानकारी गराएका थिए । २०५१ सालमा स्थापित संस्थाले दाङ, प्युठान, सल्यान, बाँके, बर्दियालगायतका जिल्लाहरुमा आर्थिक सशक्तीकरणका लागि लघु वित्तको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले विपन्न तथा समुदायमा केही गर्ने ईच्छाशक्ति भएकाहरुको आर्थिक सबलीकरणमा टेवा पुर्याउने कामलाई प्राथमिकता दिने गरेको छ ।

संस्थामा आवद्ध भई हाल हजारौँ जनाले उद्यमशीलता सम्बन्धि काम गर्दै स्वारोजगार बनेर आत्मनिर्भर भएका छन् । वार्षिकोत्सवमा नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, पत्रकार सुशिला आचार्य, रेडक्रस घोराही उपशाखा प्रमुख थम्मन चौधरी, शिक्षिका मंगला श्रेष्ठ, मुक्त कमैया समुदायकी सन्तोली चौधरी, संस्थाका कर्मचारीहरु सन्चु चौधरी, नेबबहादुर चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा संस्थाले केही दिनअघि गरेको रक्तदान कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, संस्थामा आवद्ध भई योगदान पुर्याएकाहरुलाई सम्मान गरिएको थियो । संस्थाकी सूचना अधिकारी पार्वती बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण भीमकान्त चौधरीले गरेका थिए ।