Ad Area

विश्व सुर्तिजन्य पदार्थविरुद्धको दिवसमा गोर्खा स्कुल हाप्किडो डोजाङद्वारा सचेतनामुलक कार्यक्रम


दाङ,१८ जेठ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा घोराहीस्थित गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजनामा विशेष सचेतनामूलक कार्यक्रम गरेर मनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य हाप्किडो खेलाडीहरूलाई सुर्तिजन्य पदार्थ तथा लागुऔषध दुर्व्यसनका नकारात्मक असरहरूबारे जानकारी दिई, स्वास्थ्य, सामाजिक व्यवहार तथा खेलकुद जीवनमा यसले पार्ने दीर्घकालीन प्रभावप्रति सचेत गराउनु रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक रामकुमार केसी, गोर्खा आइडियल स्कूल, लालमटिया देउखुरीका प्रधानाध्यापक बसन्त पुन, र प्रहरी नायब निरीक्षक तुलबहादुर विकले प्रस्तुतिहरूमार्फत लागुऔषधको वर्तमान अवस्था, कानुनी व्यवस्था, नियन्त्रणका उपायहरू र सचेत नागरिकको भूमिकाबारे विस्तृत जानकारी दिए ।

गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक तथा कार्यक्रम संयोजक बिशाल थापाको अध्यक्षत तथा गोर्खा इन्टरनेशनल सेकेन्डरी पब्लिक स्कूलका प्रधानाध्यापक मानसिंह घर्ती मगरको प्रमुख आतिथ्यता एवं नेपाल मार्शल आर्ट्स हाप्किडो‌ संघका अध्यक्ष कालीबहादुर घर्तीमगरको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङ, उपाध्यक्ष एलिशा खड्का, कोषाध्यक्ष अनिता भण्डारी, विभिन्न प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन घोराही नगर हाप्किडो संघकी अध्यक्ष रुपा बुढामगरले गरेकी थिइन् ।

कार्यक्रममार्फत सहभागीहरूलाई नशामुक्त समाज निर्माणमा खेलकुद, विशेषगरी हाप्किडोले गर्न सक्ने सकारात्मक भूमिका, अनुशासनयुक्त जीवनशैली र मानसिक तथा शारीरिक सशक्तिकरणबारे जानकारी गराइएको थियो।

सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सोचको विकास, व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।