व्यावसायिक घाँस खेतीबाट लाखौँ कमाउँदै सुरजलाल

छबि पुरी
घोराही, १८ असार । बाह्रै महिना अन्नबाली फल्ने खेतबारीमा पहिलो पटक व्यावसायिक रुपमा घाँस खेती शुरु गर्दा धेरैले सुरजलाल चौधरीलाई के गरेको होला रु भन्न पनि भ्याए । कृषि क्षेत्रमा काम गर्दै आएका केही अग्रजहरुको सल्लाह अनि आफु पनि पशु प्राविधिक भएर काम गर्दा सगालेको अनुभवलाई नयाँ कामबाट उतार्न खोज्दा धेरैले अचम्म माने ।
दाङको लमही नगरपालिका वडा नम्बर २ बरूवागाउँका ४१ वर्षीय सुरजलालले गाउँमै एक दशक अघि व्यावसायिक रुपमा घाँस खेती थालेपछिका दिनहरु पछि फर्केर हेर्नु परेको छैन । उहाँले जे उद्देश्य लिएर घाँँस खेती थाल्नुभयो त्यसले उहाँलाई सही सावित गरिदिएको छ । बरुवागाउँ बाह्रैमास सिँचाइ हुने ठाउँ हो ।
प्रगन्ना सिँचाइ आयोजनाको पानीले बरूवा गाउँको खेतबारीमा सिँचाइ हुने हुँदा उहाँलाई सिँचाइको समस्या भएन । अरु किसान अरु बाली फलाउन ब्यस्त हुँदा सुरजलालले धान बाली भित्र्याएपछि घाँस खेती शुरु गर्नुहुन्छ । हिउँद र गमी महिनाभर घाँस बिक्रिबाट उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
‘मैले घाँसखेती थालेको दश वर्ष भयो । मेरो आम्दानीको मुख्य स्रोत यही हो’ सुरजले भन्नुभयो, ‘भुइँघाँसमा नेपियर, सुपर नेपियर, रेड नेपियर, मुलाटो, सितेरिया लगाएको छु । डाले घाँसमा सिडलेस किम्बु, बडहर, भटमासे, इपिलइपिल, बकाइना लगाएको छु ।’
सुरजलालले ११ जातिका घाँस खेती गर्दै आउनुभएको छ । उहाँले लगाएका घाँस मध्ये किम्बु र नेपिएरको माग धेरै हुने गरेको छ ।
एक दशक अघि घाँस खेती गर्दा दुई कट्ठा जमिनबाट थालेनी गर्नुभएकोथियो । तर, अहिले तीन ठाउँमा गरेर कुल २४ कट्ठा जमिनमा ११ थरी घाँस उत्पादन हुने गरेको छ ।
‘वार्षिक १४ लाखदेखि १६ लाख रूपैयाँसम्मको घाँस बेच्छु । यसमा करिब ७ लाख जति खर्च कटाएर कुल बिक्रीबाट राम्रै बचत हुन्छ,’ उहाँले भन्नुभयो । भुइँघाँस बाह्रै महिना हुँदैन । छ महिनापछि निकालेर उहाँले धान रोप्नुहुन्छ । डाले घाँसले पनि बाह्रै महिना आम्दानी त दिँदैन । तर, यो बहुवर्षीय बिरूवा भएकाले भुइँघाँस जस्तो हटाउन मिल्दैन । घाँस बिक्री हुने मुख्य समय असार र साउन हो ।
उहाँले उत्पादन गरेको धेरैजसो घाँस दाङको लमही, राप्ती, गढवा, राजपुर लगायत ठाउँका पशुपालक किसानले किन्छन् । दाङबाहिर प्युठान, रोल्पा र सल्यान पनि उहाँले उत्पादन गरेको घाँस बिक्रि हुने गरेको छ । एक दशकअघि सुरज एक गैरसरकारी संस्थामा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका रूपमा काम गर्दा यो कामको ढोका खुलेको हो । उहाँ आफै पनि पशुसेवा सम्बन्धी प्राविधिक हुनुहुन्छ । साविक सोनपुर गाविसमा कार्यरत संस्थाले अर्को संस्थासँग मिलेर संयुक्त रूपमा घाँसखेती सम्बन्धी एउटा कार्यक्रम चलाएको थियो ।
उक्त कार्यक्रमपछि सुरजलालले आफ्नै गाउँठाउँमा घाँसखेतीको सम्भावना खोजी गरेर यसमा होमिनु भएको हो । त्यस बेला दाङका किसान चितवनबाट घाँस किनेर ल्याउँथे । यसले पनि सुरजलाई घाँसखेतीमा लाग्न थप प्रेरित गरेको थियो । ‘अन्न उब्जिने जमिनमा घाँस रोपेपछि गाउँमा धेरैले नराम्ररी खिसीट्युरी गरेका थिए । कतिपय शुभेच्छुकले अन्नबाली मास्नु राम्रो होइन भनेर सुझाव दिए । तर, काम गरेर हेरौँ । कस्तो हुन्छ भनेर लागेँ । अहिले यसैमा भविष्य देख्न थालेको छु’, उहाँले भन्नुभयो ।
काम गर्दा फाइदा देखिए घाँसको खेती बढाउने, नत्र छाड्ने विकल्प छँदै थियो । तर, उहाँलाई यसबाट राम्रो हुन्छ भन्नेमा लागेको थियो । नभन्दै पहिलो वर्ष उहाँले दुई कट्ठा जमिनबाट ४२ हजार रूपैयाँको घाँस बेच्न सफल हुनुभयो । सबै घाँस बेच्नका लागि कार्यक्रम चलाउने संस्थाले नै सघाएपछि थप सजिलो पनि भयो ।
‘पहिलो वर्षको परीक्षण सफल भएपछि परिवारमा पनि मैले गरेको कामबाट विश्वास जाग्यो सबैमा उत्साह बढ्यो,’ उहाँले भन्नुभयो ‘काम गर्दा केही जोखिम त लिनु नै पर्छ भनेर आँटेको थिएँ । आज यो ठाउँमा आई पुगेको छु । खुशी लाग्छ ।’
पहिलो वर्षको सफलतापछि उहाँले दोस्रो वर्ष पाँच कट्ठामा घाँस रोप्नुभयो । अपेक्षा अनुसार नै उत्पादन र आम्दानी भयो । अन्नबाट भन्दा निकै राम्रो आम्दानी हुने पक्का भयो । तेस्रो वर्षदेखि क्रमशः बढाउँदै लगेर अहिले उहाँले २४ कट्ठामा घाँस खेती गर्न गरिरहनु भएको छ । व्यावसायिक रुपमा घाँस खेतीमा लागेपछि उहाँले २०७४ सालमा ’सुरज डाले तथा भुइँघाँस उत्पादन’ नामको फर्म पनि दर्ता गर्नुभएको थियो । घाँसको सबै कारोबार यही फर्मका नाममा उहाँले गर्दै आउनुभएको छ ।
घाँस र अन्नको खेतीले आफ्नो परिवारको खर्च धान्न भरपर्दो आम्दानी स्रोत भएको सुरजलालको भनाई छ । आमाबुबासहित १३ जनाको संयुक्त परिवारलाई यही घाँस खेतीले सघाएको उहाँ बताउनुहुन्छ ।
आफ्नै जग्गामा उत्पादन भएको अन्नले खान पुग्ने भएपनि आम्दानीको बलियो स्रोत अहिले घाँस खेती भएको छ । बरूवा गाउँमा उहाँको परिवारले मात्र घाँस खेती गरिरहेको छ । उहाँ हाल स्थानीय एक सहकारी संस्थामा बजार व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्छ । सहकारीको जनसम्पर्कका कारणले पनि उहाँलाई घाँस बेच्न सजिलो भएको छ ।
सुरजलालले शुरूमा बाँकेको खजुरास्थित कृषि अनुसन्धान केन्द्रबाट रेड नेपियर, चितवनबाट सुपर नेपियर र प्युठानबाट सिडलेस किम्बु ल्याएर रोप्नु भएको थियो । यो वर्ष उहाँले सिडलेस किम्बुका एक लाख पचास हजार कटिङ रोप्नु भएको छ ।
‘यो सबभन्दा महँगोमा बिक्ने घाँस हो । यसको माग निकै हुने गरेको छ’ उहाँले भन्नुभयो ‘यसपछिको महँगो सुपर नेपियर हो । यो घाँस रोपेको तीन महिनामा पहिलो पटक काट्न तयार हुन्छ । यो घाँस बढीजसो गाईभैंसी पाल्ने किसानले खोज्छन् ।’
तेह्र जनाको परिवार भएकाले सबै काममा परिवारका सदस्यहरू खट्ने गरेका छन् । घाँस बेचेर तीन वर्षअघि आठकोठे पक्की घर बनाएको उहाँले बताउनुभयो ।