प्लास्टिकजन्य फोहोरबाट हस्तकलाका सामग्री बनाउने तालिम प्रदान

घोराही, १८ असार । फोहोरबाट रचनात्मक हस्तकलाका सामान बनाउने तीन दिने तालिम कपिलवस्तुमा सम्पन्न भएको छ । स्वच्छ सफा नेपालको आयोजना र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत तालिम प्रदान गरिएको हो ।
कृषक समूह, पशुपालन समूहका महिला पुरुष गरि २५ जना सहभागी प्रशिक्षार्थीले घरमा प्रयोगमा आउने पलास्टिक र अन्य नगल्ने बस्तुबाट विभिन्न सामग्री बनाउन सिकेका छन् ।
प्लास्टिकको पुनः प्रयोग गरि वातावरण स्वच्छ सफा राख्ने प्रयास स्वरुप प्लास्टिकजन्य फोहोरबाट हस्तकलाका सामग्री बनाउन सिकाएको स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले बताउनुभयो । नगल्ने फोहर व्यवस्थापन पनि हुने र दैनिक प्रयोगमा आउने झोला, गमला, ढकिया जस्ता बस्तु बनाएर प्रयोग गर्न पाइने भएकाले तालिम उपलब्धि मुलक भएको सहभागीहरुले बताएका छन् ।
प्रशिक्षक प्रिती प्रधानाङ्गले गमला, फूलदानी, ढकिया बनाउने तालिमपछि पुनः प्रयोग हुने सामग्री निर्माणले वातावरण सफा बनाउन सघाउने बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाश विक्रम शाहीले जलवायु परिवर्तन न्यूनीकरण गरी पर्यावरण स्वच्छ राख्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका विषयमा छलफल भएको बताउनुभयो । स्वच्छ वातावरण राख्न घर परिवारबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । सहभागीले आफुले बनाएका सामग्री प्रदर्शनी पनि गरेका थिए।