राप्ती नदीमा बन्दै झोलुङ्गे पुल

सुमित्रा पुन
दाङ, २९ असार । देउखुरीस्थित राप्ती नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । लमही नगरपालिका–९ अमिलिया र राजपुर गाउँपालिका–७ हाडबास गाउँ जोड्ने गरी राप्ती नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।
लुम्बिनी प्रदेश सरकारको एक करोड ९१ लाख ११ हजार तीन सय ४७ रुपैयाँ ६१ पैसाको लागतमा दुई सय ८६ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर गिरीले जानकारी दिएका छन् । सूचना अधिकारी गिरीका अनुसार एक वर्षभित्र पुलको निर्माण कार्य सक्ने गरी शैलेन्द्र निर्माण सेवा नुवाकोटले काम गरिरहेको छ ।
२०८१ माघ २२ गते ठेक्का सम्झौता भएको झोलुङ्गे पुल २०८२ माघ मसान्तभित्र निर्माण सक्ने गरी काम भइरहेको सूचना अधिकारी गिरीले बताए । सम्झौता भएपछि निर्माण कम्पनीले काम सुरु गरेको र पुलको फाउन्डेसन निर्माणको काम सकिएको भन्दै सूचना अधिकारी गिरीले भने, ‘पुल निर्माणको काम राम्रै गतिमा अघि बढिरहेको छ ।
पुलको प्रारम्भिक चरणको फाउन्डेसनको काम सकिएको छ ।’ सूचना अधिकारी गिरीका अनुसार निर्माण कम्पनीले झोलुङ्गे पुलको सिभिल कार्र्य अन्तर्गत पुलको फाउन्डेसन निर्माण गरिसकेको छ । पुल निर्माण अन्तर्गत निर्माण कम्पनीले प्रारम्भिक चरणको मुख्य काम गरिसकेकाले पोल गाड्नेदेखि तार तानेर फिटिङ गर्ने काम बाँकी छ ।
उक्त स्थानमा पुल नहुँदा राजपुर गाउँपलिका–७ हाडबासका करिब ३० घर बढीलाई वर्षाको समयमा राप्ती नदीमा डुङ्गाको सहाराले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको लमही नगरपालिका–९ अमिलिया निवासी श्रीराम दहित बताउँछन् ।
पुल निर्माण भएपछि हाडवास, गोठुवा गाउँका स्थानीयलाई घरायसी कामकाज, किनमेलसँगै बालबालिकालाई अमिलियास्थित विद्यालयमा पढ्न आउन सहज हुनेछ । पुल नहुँदा हाडबासवासीलाई राप्ती नदी पार गर्न करिब डेढ घण्टा हिडेर लमही नगरपालिका–९ हात्तीसाल र राजपुर गाउँपालिका–७ गोठुवा गाउँ जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुलसम्म पुग्नुपर्ने बाध्यता छ । नदी सानो भएको समयमा भने डुङ्गा चल्ने गरेको छ ।