सात दशकदेखि मादल बनाउँदै चलेको जीविका

लीलाधर वली
दाङ, २६ असोज । मादल बनाएर जीविकोपार्जन गर्दै आएका चित्रे वादी उमेरले सात दशक नजिक पुगेका छन् । १२ वर्षकै उमेरमा मादल बनाउने सिप सिकेका ६७ वर्षीय वादीले मादल बनाउने काम गरेरै परिवारको खर्च जुटाउने काम गर्दै आएका छन् ।
तिहार नजिकिएसँगै घोेराही उपमहानगरपालिका–१७ पचुर्खा निवासी वादीलाई नयाँ मादल बनाउनेदेखि पुराना मादल मर्मतका लागि भ्याइनभ्याई छ । घरको बैठक कोठासँगै आँगनसम्म मादल राखेर मर्मतमा जुटेका वादी भन्छन्,‘तिहार लागेसँगै सबैलाई मादल चाहिएको छ ।
नयाँ मादल किन्नेदेखि पुराना मादल मर्मतका लागि प्रत्येक दिन ४÷५ जना आइरहनुहुन्छ ।’ तिहारमा मादलको माग बढी हुने भएकाले पनि अन्य महिनाको तुलनामा बढी आम्दानी हुन्छ । तिहारमा भैलो खेल्ने, चाहिने भएका कारण नयाँ मादल किन्ने, पुराना मादलमा खरी हाल्ने, मादलका डोरी कस्नेदेखि छाला फेर्नका लागि गाउँघरसँगै घोराही बजारसम्मबाट मानिस आउने गर्दछन् ।
सानै उमेरमा घरमा बुबा–बाजेले मादल बनाएको देखेर बनाउन सिकेका वादीले विगतको सम्झना गर्दै भन्छन्,‘पुर्खौली पेसा पहिचानसँगै परिवारको खर्च जुटाउने माध्यम बनेको छ ।’ खेतीपातिका लागि जोत्ने जग्गा समेत नभएको परिवारमा मादल बनाउने पैसाले नै आठजनाको परिवार पाल्ने माध्यम बनेको बताउँछन् । उनका अनुसार घरको बैठक कोठादेखि पालिसम्म मादलले भरिएको हुन्छ ।
कुनै नयाँ मादल बनाउनेदेखि कतिपय पुराना मादलको खरी फेर्ने, डोरी कस्ने काम भइरहेको बताउँछन् । ‘तिहार लागेसँगै सबैलाई मादल चाहिएको छ’, वादी भन्छन्,‘नयाँ मादल बनाउनेदेखि पुराना मर्मत गर्ने काममा चलिरहेको छ ।’ खासगरी तिजदेखि तिहारसम्मको करिब दुई महिनाको अवधिमा मादलको धेरै कारोबार हुने भएकाले करिब ३०–४० हजार रुपैयाँसम्म आम्दानी हुने बताउँछन् ।
विगतमा धेरै पैसा हुने गरे पनि नयाँ प्रविधिसँगै हातहातमा मोबाइल र साउण्ड स्टिमका माध्यमबाट नाँचगान गर्दा मादलको बिक्री वितरणमा कमी आएको बताउँछन् । ‘पहिले जस्तो अहिले मादल बिक्री हुँदैन’,उनी भन्छन्,‘हात–हातमा मोवाइल छ, मोवाइलवाट गीतसँगै डिजे बजाएर नाच्न थालेपछि मादलको महत्व घट्यो र बिक्रीमा कमी आयो ।’ करिब १०–१५ वर्षअघिसम्म राम्रो आम्दानी हुने गरेको यो पेसा अहिले सङ्कटमा छ ।
पछिल्लो समय तिहारमा भैलो खेल्न र दशैँमा थारू समुदायले नाच्दा मात्र मादलको माग देखिन्छ, बाँकी समय मादलको बिक्री हुँदैन । आम्दानी कम हुने भएपछि वादीका चार छोरा र दुई छोरीमध्ये कसैले पनि यो पेसा नअपनाएको बताउँछन् । कान्छो छोराले केही समय काम गरे पनि कमाई खासै नभएपछि अटो किनेर चलाउन थालेको बताउँछन् । आधुनिकताको चपेटामा पर्दा परम्परागत पेसासँगै मौलिक बाजाका रूपमा रहेको मादलको समेत कारोबारमा कमी आएको उनी बताउँछन् ।
उनका अनुसार नयाँ बनाएको मादल तीन हजारदेखि २० हजार रुपैयाँसम्मका बिक्री गर्ने गर्दै आएका वादीले मादलको साइज अनुसार मर्मत शुल्क एक हजार आठ सयदेखि ६ हजार रुपैयाँसम्म लग्ने गरेको बताउँछन् । मादल बनाउने काममा आपूmलाई श्रीमतीले सहयोग गर्ने गरेको बताउँछिन् । उनका अनुसार पछिल्लो समय मादल बनाउनका लागि काठ, खरी जुटाउन समेत समस्या हुने गरेको बताउँछन् । परम्परागत बाजाको संरक्षणका लागि युवालाई कला सिकाउनेदेखि मादल बनाउन नयाँ पुस्तालाई सिकाउनका लागि तालिमको आयोजना गर्न आवश्यक रहेको बताउँछन् ।