Ad Area

घोराही आठौँ मेयर कप फुटबल प्रतियोगिता माघ ४ गतेदेखि हुने


दाङ, २३ पुस । घोराही आठौँ मेयर कप फुटबल प्रतियोगिता–२०८२ आगामी माघको ४ गतेदेखि सुरु हुने भएको छ ।

घोराही उपमहानगरपालिकाको बार्षिक कार्यक्रमअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय आठौँ सस्करणको घोराही मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता माघको ४ गतेदेखि सुरु हुन थालेको हो ।

फुटबल प्रतियोगिताको उद्घाटन माघ ४ गते दिउँसो १२ बजे नवलपुर खेल मैदानमा हुने नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिएका छन् । उनका अनुसार वडाको फुटबल टिम दर्ताका लागि २०८२ पुस २८ गतेसम्मका लागि समय दिइएको छ । मेयर कप फुटबल प्रतियोगितामा घोराही उपमहानगरपालिकाभित्रका १ देखि १९ नम्वर वडासम्मका फुटबल टिमको सहभागी रहने गरेको छ ।

प्रतियोगितामार्फत स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।