Ad Area

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, त्रिवेणी र डिवाइसीको विजयी सुरुवात


लक्ष्मण बस्नेत
तुलसीपुर, २५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर माध्यमिक विद्यालय उरहरीको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

वडा सदस्य यज्ञबहादुर बस्नेतको अध्यक्षता, वडाध्यक्ष मानबहादुर रावतको प्रमुख आतिथ्य तथा दाङ जिल्ला फुटबल संघका उपाध्यक्ष पवनकुमार योगीको विशिष्ट आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष रावतले खेलकुद स्वस्थ जीवनशैली र अनुशासनको उच्च आदर्शलाई जीवन्त बनाउने माध्यम भएको बताउनुभयो । खेलकुदको पहुँच ग्रामीण तहसम्म पुर्‍याउने उद्देश्यसहित आफू अध्यक्ष भएयता विश्वमा लोकप्रिय फुटबल र क्रिकेटलाई वडाध्यक्ष कपमार्फत निरन्तर जोड्दै ग्रामीणस्तरका प्रतिभाको पहिचान गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वडाभित्रका ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँ र उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई आकर्षक मेडल प्रदान गरिनेछ ।

वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव पदमकुमार भण्डारीले गर्नुभएको थियो । यसैबीच, प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा बेलटाकुरा ‘बी’लाई ५–० गोल अन्तरले पराजित गर्दै त्रिवेणी युवा क्लब कटाहाले विजयी सुरुवात गरेको छ । त्यस्तै दोस्रो खेलमा डिवाइसी बेलगनारी ‘बी’ले उरहरी ‘सी’लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतियोगिताअन्तर्गत भोलि शनिबार तीन खेल हुनेछन् । पहिलो खेल बिहान साढे सात बजे बेलटाकुरा ‘ए’ र डिवाइसी बेलगनारी ‘ए’ बीच हुनेछ । दोस्रो खेल बबई लेजेन्ड र मोतीपुरबीच हुनेछ भने तेस्रो खेल त्रिवेणी युवा क्लब कटाहा र उरहरी ठुलोगाउँबीच प्रतिस्पर्धा हुनेछ ।