Ad Area

दाङका साढे सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने


लीलाधर वली
दाङ, २३ माघ । दाङमा साढे सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको क्यान्सरविद्धको खोप अभियानका क्रममा छुटेका सात हजार आठ सय २९ जना किशोरीलाई यो वर्ष खोप लगाउन थालिएको हो ।

खोप लगाउनेमा विद्यालयमा अध्ययनरत सात हजार छ सय २७ जना र विद्यालय बाहिर रहेका दुई सय १० जना किशोरी रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले जानकारी दिएका छन् । कार्यालय प्रमुख गुरुङका अनुसार खोप लगाउने सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका विद्यालयमा अध्ययनरत दुई हजार पाँच सय ३९ जना र विद्यालय नजाने ७८ जना गरेर दुई हजार छ सय १७ जना किशोरी रहेका छन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाका विद्यालयमा अध्ययनरत दुई हजार एक सय २८ जना र विद्यालय बाहिर रहेका ४९ जना गरेर दुई हजार एक सय ७७ जना, लमही नगरपालिकाका विद्यालयमा अध्ययनरत छ सय १९ जना र विद्यालय नजाने १० जना गरेर छ सय २९ जना, राप्ती गाउँपालिकाका विद्यालयमा अध्ययनरत पाँच सय २८ जना र विद्यालय बाहिर रहेका १७ जना गरेर पाँच सय ४५ जना, गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत चार सय ३१ जना र विद्यालय बाहिर रहेका छ जना गरेर जम्मा चार सय ३७ जना, राजपुर गाउँपालिकाका विद्यालयमा अध्ययनरत दुई सय ८१ जना र विद्यालय बाहिर रहेका २० जना गरेर तीन सय एक जनालाई खोप लगाउन थालिएको कार्यालय प्रमुख गुरुङले बताए ।

यसैगरी बङ्गलाचुली गाउँपालिकाका विद्यालयमा अध्ययनरत दुई सय ७६ जना र विद्यालय बाहिर रहेका १६ जना गरेर दुई सय ९२ जना, दंगीशरण गाउँपालिकाका विद्यालयमा अध्ययनरत एक सय ८९ जना र विद्यालय बाहिर रहेका पाँच जना गरेर एक सय ९४ जना, बबई गाउँपालिकाका विद्यालयमा अध्ययनरत तीन सय २२ जना र विद्यालय बाहिर रहेका चार जना गरेर तीन सय २६ जना र शान्तिनगर गाउपालिकाका विद्यालयमा अध्ययनरत तीन सय १४ जना र विद्यालय बाहिर रहेका पाँच जना गरेर तीन सय १९ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन थालिएको हो । गत वर्ष जिल्लामा खोप अभियानका क्रममा छुटेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको कार्यालय प्रमुख गुरुङले बताए । खोप लगाउनका लागि जिल्लामा दुई सय ४९, स्वास्थ्य संस्थामा ४९ र अन्य स्थानमा पाँच वटा गरेर दुई सय ९९ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

खोप अभियान दाङमा पहिलो चरणमा माघ २५ देखि २७ गतेसम्म घोराही उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सञ्चालन हुने छ भने दोस्रो चरणमा माघ २८, २९ र फागुन १ गतेसम्म तुलसीपुर उपमहानगरपालिकासहित बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बङ्गलाचुली गाउँपालिमा सञ्चालन हुनेछ । अभियानका क्रममा छुटेका किशोरीलाई सम्बन्धित वडा तहमा रहेका स्वास्थ्य संस्थामा फागुन ४ गतेसम्म चलाउन सक्ने व्यवस्था गरिएको छ । गत वर्ष अभियानका क्रममा ३६ हजार नौ सय ७६ जनालाई एचपिभी खोप लगाइएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले लक्षित उमेर समूहका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउने गरी अभियान सञ्चालन गर्नु पर्ने बताए । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विकास गौचनले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भएकाले ढुक्कसँग खोप लगाउन सबैमा आग्रह गरेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङ, क्षय तथा कुष्ठ रोग फोकल पर्सन भानुज्योति वली र कमल चन्दले एचभिपी रोग र जिल्लामा सञ्चालन गर्न थालिएको अभियान र लक्षित समूहबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण भानुज्योति वलीले गरेका थिए ।