बढ्दो साइवर जोखिम र हाम्रो जिम्मेवारी
नविन नाथ
नेपाल आज डिजिटल रुपान्तरणको तीव्र यात्रामा छ । गाउँदेखि सहरसम्म इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ । मोवाइल बैंकिङ, अनलाइन भुक्तानी, सामाजिक सञ्जाल, सरकारी सेवा सबै केही अहिले हाम्रो हातको मोवाइलमै सीमित भएको छ । केही वर्षअघिसम्म लाइन बसेर गर्नु पर्ने कामहरु आज केही क्लिकमै पूरा हुने अवस्था आएको छ । यो परिवर्तन उत्साहजनक छ, आशावादी छ र आधुनिक नेपालको सङ्केत पनि हो ।
तर, प्रत्येक उज्यालोसँग एउटा छायाँ पनि जोडिएको हुन्छ । डिजिटल सुविधाको उज्यालोसँगै साइवर जोखिमको छायाँ पनि त्यत्तिकै गहिरिँदै गएको छ । पछिल्ला वर्षहरुमा नेपालमा साइवर अपराधका घटनाहरु उल्लेखनीय रुपमा बढेका छन् । सामाजिक सञ्जाल ह्याक भएको, बैंक खाताबाट रकम चोरी भएको, नक्कली लगानी योजनामा ठगिएको जस्ता घटनाहरु अब सामान्य समाचारजस्तै बन्न थालेका छन् । सबैभन्दा चिन्ताजनक कुरा के हो भने धेरैजसो घटनामा प्रयोगकर्ताको सानो असावधानी नै ठूलो क्षतिको कारण बन्ने गरेको छ । एउटा फिसिङ लिङ्कमा क्लिक गर्दा, अपरिचित व्यक्तिलाई OTP बताउँदा वा आकर्षक अफरको लोभमा परेर व्यक्तिगत विवरण उपलब्ध गराउँदा मानिसहरुले आफ्नो वर्षौंको मेहनतले कमाएको रकम गुमाएका उदाहरणहरु प्रशस्तै छन् ।
कति पीडादायी हुन्छ, जब एक सामान्य नागरिकले आफ्नो जीवनभरको बचत केही मिनेटमै गुमाउँछ । त्यो केवल आर्थिक क्षति मात्र होइन– त्यो मानसिक आघात हो, आत्मविश्वासमा आएको गहिरो चोट हो र कहिले काहीँ परिवारभित्रको असहजता र तनावको कारण पनि बन्न सक्छ । हामीले स्पष्ट रुपमा बुझ्नुपर्छ–प्रविधि आफैं दोषी होइन । प्रविधि त केवल एउटा साधन हो । जोखिम हाम्रो लापरवाहीबाट जन्मिन्छ । डिजिटल सुरक्षाको पहिलो आधार चेतना हो । यदि हामी सचेत छौँ भने धेरैजसो जोखिमहरुबाट आफूलाई जोगाउन सक्छौँ ।
आज पनि कतिपय व्यक्तिहरु फोनमा आएका अपरिचित कललाई विश्वास गरेर आफ्नो बैंक विवरण, पासवर्ड वा OTP साझा गरिरहेका छन् । बारम्बार सचेत गराइए पनि यो प्रवृत्ति पूर्ण रुपमा रोकिएको छैन । स्मरण रहोस्– कुनै पनि बैंक, वित्तीय संस्था वा आधिकारिक निकायले फोन, इमेल वा सन्देशमार्फत् गोप्य विवरण माग्दैन । यस्तो अनुरोध आएमा त्यो सम्भावित ठगी नै हो ।
यसै सन्दर्भमा सामाजिक सञ्जालको जथाभावी प्रयोग पनि गम्भीर चिन्ताको विषय बनेको छ । हामीले व्यक्तिगत विवरण, घरको ठेगाना, यात्रा योजना वा निजी तस्विरहरु सजिलै सार्वजनिक गरिरहेका हुन्छौँ । अझ चिन्ताजनक कुरा त के छ भने कतिपय व्यक्तिहरु नागरिकता, शैक्षिक प्रमाणपत्र, क्यारेक्टर सर्टिफिकेट, लाइसेन्स वा अन्य आधिकारिक कागजातहरु समेत गर्वका साथ सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन् । सफलता साझा गर्नु स्वाभाविक हो, तर संवेदनशील विवरणसहितका कागजात सार्वजनिक गर्नु भने जोखिमपूर्ण निर्णय हो ।
यस्ता कागजातमा पूर्ण नाम, जन्ममिति, ठेगाना, नागरिकता नम्वर, अभिभावकको नाम, हस्ताक्षर जस्ता अत्यन्त संवेदनशील सूचना समावेश हुन्छन् । साइवर अपराधीहरुका लागि यिनै विवरण पहिचान चोरी (Identity Theft), नक्कली खाता खोल्ने वा आर्थिक ठगी गर्ने माध्यम बन्न सक्छन् । डिजिटल संसारमा एक पटक सार्वजनिक गरिएको सूचना पूर्ण रुपमा हटाउन प्रायः असम्भव हुन्छ भन्ने यथार्थलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । त्यसैले व्यक्तिगत कागजातहरु सामाजिक सञ्जालमा सार्वजनिक नगर्नु नै सबैभन्दा सुरक्षित विकल्प हो ।
विशेषगरी किशोरकिशोरी र युवाहरु बढी जोखिममा छन् । अनलाइन गेम, च्याट र सामाजिक सञ्जालमार्फत् हुने साइवर बुलिइङ, ठगी तथा चरित्र हत्या जस्ता घटनाहरुले उनीहरुको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ । यस अवस्थामा अभिभावक, शिक्षक र समाजको भूमिका झन् महङ्खवपूर्ण बन्छ । केवल प्रविधि प्रयोग गर्न सिकाउनु पर्याप्त हुँदैन, सुरक्षित रुपमा प्रयोग गर्न सिकाउनु अझ आवश्यक हुन्छ ।
साइवर सुरक्षा केवल प्राविधिक विषय होइन– यो सामाजिक जिम्मेवारी पनि हो । बलियो र फरक–फरक पासवर्ड प्रयोग गर्नु, दुई तहको प्रमाणीकरण (Two-Factor Authentication) सक्रिय गर्नु, आधिकारिक वेबसाइट मात्र प्रयोग गर्नु, तथा सार्वजनिक WiFi प्रयोग गर्दा संवेदनशील काम नगर्नु जस्ता सामान्य सावधानीहरुले ठूलो क्षति हुनबाट जोगाउन सक्छ । हामी प्रायः सोच्दछौँ– ‘मेरो सानो खातामा कसले चासो राख्छ र रु’ तर वास्तविकता के हो भने साइवर अपराधीहरुका लागि प्रत्येक खाता सम्भावित लक्ष्य हो । सानो सतर्कताले लाखौँको क्षति रोक्न सक्छ ।
राज्य, निजी क्षेत्र र नागरिक समाजबिच सहकार्य अपरिहार्य छ । विद्यालय तथा कलेज तहबाटै डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी शिक्षा समावेश गर्नु पर्ने समय आएको छ । कानुनी संरचना सुदृढ गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्नु पनि उत्तिकै आवश्यक छ । साइवर अपराधलाई सामान्य घटना भनेर बेवास्ता गर्ने अवस्था अब रहनु हुँदैन ।
डिजिटल नेपालको सपना केवल इन्टरनेट विस्तारमा सीमित हुनु हुँदैन, त्यो सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल संस्कृतिसँग जोडिएको हुनुपर्छ । हामी सबैले आत्ममूल्याङ्कन गर्न जरुरी छ– के हामी पर्याप्त सचेत छौँ ? के हामी आफ्ना परिवार र साथीहरुलाई डिजिटल सुरक्षाबारे सचेत गराइरहेका छौँ रु सुरक्षित डिजिटल समाज निर्माण कुनै एक निकायको मात्र जिम्मेवारी होइन । यो हाम्रो सामूहिक दायित्व हो ।
सचेत नागरिक, जिम्मेवार संस्था, सक्षम नीति–व्यवस्था र सक्रिय कार्यान्वयन– यी सबै मिलेर मात्र बढ्दो साइवर जोखिमलाई नियन्त्रण गर्न सकिन्छ । डिजिटल भविष्य उज्यालो हुन सक्छ, तर त्यसलाई सुरक्षित बनाउने जिम्मेवारी आज हाम्रो हातमा छ । आजको सानो सावधानीले भोलिको ठूलो सङ्कट टार्न सक्छ ।
(लेखक नविन नाथ साइवर सुरक्षाका प्रशिक्षक हुन् ।)
