Ad Area

मतदाताको सहभागिताले बढाउँदै उत्साह


दाङ, ७ फागुन । निर्वाचन प्रचारप्रसारका क्रममा बढ्दै गएको मतदाताको सहभागिताले दाङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका किरणकिशोर घिमिरेलाई उत्साह थप्दै लगेको छ । निर्वाचनका क्रममा विभिन्न वडाहरूमा बढ्दै गएको जनसहभागिताले निर्वाचनमा उत्साह थप्दै लगेको छ ।

चुनाव प्रचारप्रसारका क्रममा बुधवार उम्मेदवार घिमिरेले घोराही–८ र १२ का विभिन्न टोलमा मतदाता तथा पार्टीका अगुवा नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । घरदैलो तथा भेटघाटका क्रममा जनताले परिवर्तनको चाहना व्यक्त गर्दै त्यसको नेतृत्व कांग्रेसले लिनु पर्ने धारणा राखेका थिए । उनले देश तथा विदेशमा अध्ययन र सामाजिक क्षेत्रमा काम गर्दै बटुलेको अनुभवलाई नीति निर्माण तहमा प्रयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

शिक्षा, स्वास्थ्य, सिँचाइ, मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू सांसद होइन, जनताको सेवकका रूपमा काम गर्ने अठोट दोहो¥याए । भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने र सुशासनका लागि लड्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै महासमिति सदस्य भूपबहादुर डाँगीले पार्टीले नीति र नेतृत्व परिवर्तनको सन्देशसहित दाङ–२ मा स्वच्छ छवि, इमानदार र अहिलेसम्म कुनै बदनाम नभएको नयाँ अनुहारका रूपमा घिमिरेलाई उम्मेदवार बनाएको बताए ।

उनले गाउँ गाउँमा कांग्रेसप्रति उत्साह, विश्वास र समर्थन बढ्दै गएको बताए । नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति भीमप्रकाश खड्काले दाङको भावना आत्मसात गर्दै योग्य, सक्षम, अन्तर्राष्ट्रिय अनुभव बोकेका व्यक्तिलाई उम्मेदवार बनाएकाले जनताले साथ दिनु पर्ने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् चुनाव प्रचारप्रसार समिति संयोजक राजु खनालले देशमा सुशासन र समृद्धिका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उम्मेदवार घिमिरेले बुधवार घोराही–८ र १२ नं. वडाका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका थिए ।

घरदैलो कार्यक्रममा लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, महासमिति सदस्य भूपबहादुर डाँगी, क्षेत्र नम्बर–२ (ख) का सभापति अभियान बस्नेत, सचिव तिलक केसी, वडा नं. ८ का सभापति श्रवण रजौरेलगायत जिल्ला, पालिका र वडास्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।