Ad Area

नेसंविका प्राध्यापकहरुलाई क्षमता विकास तालिम


दुर्गालाल केसी

काभ्रे, ४ बैशाख– नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरुका लागि शुक्रबारदेखि काभ्रेको धुलिखेलमा पेशागत क्षमता विकास तालिम शुरु भएको छ ।

संस्कृत विश्वविद्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित तालिममा संस्कृत विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयका प्राध्यापकहरुले तालिम दिने कार्यक्रम छ ।

एक सातासम्म सञ्चालन हुने तालिममा अनुसन्धान र शिक्षणका आधुनिक पद्धतीबारे प्रशिक्षण दिइने भएको छ । संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीको अध्यक्षता र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।

तालिम उद्घाटन गर्दै उपकुलपति नेपालले तालिमबाट प्राध्यापकहरुको क्षमता विकास भई विश्वविद्यालयको गुणस्तर बृद्धि हुने अपेक्षा गरिएको बताए । उच्च शिक्षामा बिशिष्टतालाई प्रवद्र्धन गर्दै समयानुकूल परिमार्जन गर्दै जाने उद्धेश्यले तालिमहरु सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

ज्ञानको दायरा फराकिलो बनाउँदै सिकाईमा नयाँ प्रबिधि अनुशरण गर्न तालिमहरु जरुरी रहेको संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. सुधन कुमार पौडेलले बताए । तालिम उदघाटन कार्यक्रममा संस्कृत विश्वविद्यालय प्राध्यापक संघका महासचिव सहप्राध्यापक डा. नारायण बरालले पूर्वीय दर्शनको विकासका लागि विश्वविद्यालयले लगानी बढाउनुपर्ने सुझाव दिएका थिए ।

तालिमको महत्वबारे प्रकाश पार्दै कालिका विद्यापीठ गैंडाकोटका प्राचार्य डा. केशव चालिसेले विश्वविद्यालयको शिक्षालाई समयानुकूल विकास गर्न तालिम आयोजना गरिएको बताए । कार्यक्रमको सहजिकरण विश्वविद्यालयका उप लेखानियन्त्रक नविन कुमार पोख्रेलले गरेका थिए ।

पहिलो दिन त्रिभुवन विश्वविधालयका सहप्राध्यापक डा. ध्रुव कुमार निउरे र संस्कृत विश्वविधालयका सहप्राध्यापक डा. राजकुमार साउदले प्रशिक्षण दिएका थिए ।तालिममा प्रतिवेदन तथा दस्तावेजीकरणको जिम्मेवारी सहप्राध्यापक राजकुमार साउद, उपप्राध्यापक केशव चालिसे, उत्तम पौडेल र दुर्गालाल केसीले निर्वाह गरेका छन् ।