दोश्रो लुम्बिनी रोड रेस प्रतियोगिताको तयारी पूरा, एक हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्ने
दाङ,११ बैशाख । दाङको घोराहीमा बैशाख १२ गते शनिवार हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन थालेको प्रतियोगितामा महिला र पुरुष गरेर एक हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्ने भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिता बिहान साढे ६ बजेबाट सुरु हुनेछ । प्रदेश खेलकुद परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी खेलाडीले घोराही उपमहानगरपालिका–१५ तुलसीपुर चोकबाट दौड सुरु गरेर दिपशिखाचोक, गुलरियापार्क–नेपाल पुलिस स्कुल, वडा नं. ६ को कार्यालय हुँदै फचकपुर पुगेर पुनः घोराहीस्थीत तुलसीपुरचोक फर्किनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ८० हजार रुपैयाँ, द्वितीयले ४५ हजार र तृतीयले २५ हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी चौथोले १५ हजार, पाँचौंले १० हजार र छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गतवर्ष २०८२ असार १४ गते सम्पन्न पहिलो संस्करणमा पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठले ३१ मिनेट ३०.४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका थिए । महिलातर्फ नेपाल आर्मीकै निशा सार्की प्रथम भएकी थिइन् ।
गतवर्ष पुरुषतर्फ नरेन्द्र रावत दोस्रो, नागेश्वर अहिर तेस्रो, विनोद रोकाया चौथो र रुपेश कार्की पाँचौं भएका थिए । महिलातर्फ पुष्पा भण्डारी दोस्रो, दिया परियार तेस्रो, सुमित्रा कुमारी चौधरी चौथो र पुष्पा कठायक पाँचौं स्थानमा रहेकी थिइन् ।
