आर्थिक अनियमितता अनुसन्धान गर्न एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध
काठमाडौँ,१३ बेशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईलाई वैदेशिक भ्रमणमा रोक लगाएको छ ।
एन्फामा भएको आर्थिक अनियमितताका विषयहरूमा अनुसन्धान गर्न परिषद्ले तत्कालका लागि पदाधिकारीलाई विदेश जानबाट रोक लगाइएको जनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयलाई १० दिनभित्र एन्फाको आर्थिक अनियमितताबारे छानबिन गरी प्रतिवेदन तयार पारेर पठाउन अनुरोध गरेको थियो ।
त्यसपछि मन्त्रालयले यो काम राखेपलाई सुम्पिएपछि सदस्य सचिव रामचरित्र मेहताले कमल भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । समितिको सिफारिसमा मन्त्रालयले एन्फा पदाधिकारीलाई वैदेशिक भ्रमणमा रोक लगाएको हो । राखेप सदस्यसचिव मेहताले पनि नेपाली फुटबल कमजोर रहेको अवस्थामा अहिले वैदेशिक भ्रमणभन्दा घरेलु फुटबलको विवाद समाधान गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । अहिले एन्फा पदाधिकारी फिफा विश्वकप फुटबलका लागि अमेरिका र क्यानडा जाने योजनामा छन् ।
फिफा विश्वकप ४६ दिनपछि क्यानडा, अमेरिका र मेक्सिकोमा सुरु हुँदैछ । यो समितिले केल्मी नेपालसँग सामान खरिदमा भएको अनियमितता, फुटबलका विभिन्न प्रतियोगितामा भएको आर्थिक दुरुपयोग, महिला साफमा लिएको पेस्की, अपारदर्शी निर्वाचन खर्च र मुद्दामामिलामा आर्थिक दुरुपयोग लगायत विषयमा अध्ययन गर्नेछ । समितिले एन्फालाई कागजात पेस गर्न बुधबारसम्मको समय दिएको छ । त्यसपछि आगामी शुक्रबारसम्ममा मन्त्रालयमा प्रतिवेदन पेश गर्ने समितिको तयारी छ । एन्फा पदाधिकारीको वैदेशिक भ्रमण भने अर्को सूचना जारी नभएसम्म कायम रहने मेहताले बताएका छन् । मन्त्रालयले हवाई र स्थलमार्गबाट विदेश जान रोक लगाउन पत्राचार गरिसकेको बताएको छ ।
