रोल्पामा जिप दुर्घटनामा २० जनाको मृत्यु,एक जना घाइते
रोल्पा, १८ वैशाख । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २० जनाको मृत्यु भएको हो ।
जिप सडकबाट करिब आठ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक नेपालीका अनुसार वैशाख १८ गते पूर्णिमाको अवसरमा रोल्पाको पर्यटकीय क्षेत्र जलजलामा लाग्ने मेलामा सहभागी हुने तीर्थालु लिएर जाने क्रममा बिहिबार दिउँसो २ः४५ बजेतिर थवाङ गाउँपालिका–१ सल्यापमा जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनास्थल भौगोलिक रूपमा दुर्गमसँगै वर्षाद भइरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिएका छन् । ‘भौगोलिक विकटतासँगै वर्षाद् भइरहेकाले उद्धारमा कठिनाइ भएको छ’, सूचना अधिकारी थापाले भने । उनका अनुसार जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख वीरेन्द्रवीर विश्वकर्माको कमान्डमा खटिएको प्रहरी टोलीले उद्धारको काम गरिरहेको छ ।
प्रहरीका अनुसार उद्धार कार्य जारी रहेको जनाएको छ । दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ निवासी ३२ वर्षीय समिर कामी घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते कामीको आधारभूत अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । उनका अनुसार घाइते तथा मृतकको उद्धारकै क्रममा रहेकाले दुर्घटनाको कारण खुल्न सकेको छैन ।
