Ad Area

लमही पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


देउखुरी, ५ जेठ । लमही नगरपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पु¥याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण अभियान भएको बताए ।

उनले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेल्ने बताउँदै स्थानीय तह, स्वास्थ्यकर्मी र अभिभावकबीचको सहकार्यकै कारण यो उपलब्धि सम्भव भएको बताएका हुन । उनले खोप अभियानलाई निरन्तर प्रभावकारी बनाउन समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउँदै प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई समयमै खोप लगाउने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका थिउ ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको बताए । नगर प्रमुख चौधरीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा नगरपालिकाको सामूहिक उपलब्धि भएको उल्लेख गर्दै यसमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय, जनप्रतिनिधि तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न स्थानीय तहले आवश्यक बजेट व्यवस्थापन गर्दै गुणस्तरीय सेवा विस्तारमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी योगीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानमा महिला स्वास्थ्य स्वयंसेविका र आमाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन । उनले बालबालिकाको स्वास्थ्य सुरक्षामा आमाको सचेतना नै मुख्य आधार भएको उल्लेख गर्दै समयमै खोप लगाउने बानीले भविष्यमा धेरै रोगबाट जोगाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद शर्माले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानअन्तर्गत पालिकाले पूरा गरेका सूचक, खोप कार्यक्रमको अवस्था तथा आगामी योजनाबारे जानकारी गराएका थिए । उनका अनुसार नियमित खोप सेवाबाट बालबालिकालाई पोलियो, दादुरा, क्षयरोग, हेपाटाइटिसलगायतका विभिन्न रोगबाट सुरक्षित राख्न सकिनेछ । लमही नगरपालिकाको १ देखि ९ नम्बर वडालाई पूर्णखोप सुनिश्चितता वडा प्रमाणपत्र प्रदान गरिएको थियो ।

लमही नगरपालिकाले चालु आर्थिक वर्षमा ४ हजार ९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेकोमा ३ हजार ६ सय ६० जना बालबालिकाको घरभेट कार्यक्रममार्फत खोप लगाइएको पाइएको जानकारी दिएका थिए । वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना भुसाल शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले गरेका थिए ।