सिप सिकेर आत्मनिर्भर बन्दै महिला 


प्रिया स्मृती गजमेर
दाङ, २६ जेठ । लमही नगरपालिका–९ तेलिया निवासी कल्पना डाँगी हातले स्विटर बन्ने सिप सिकेपछि उत्साहित छिन् । घरधन्दा र चुल्हो चौकोमै सीमित डाँगीले लमही नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा (मेड्पा) अन्तर्गत सञ्चालन गरिएको ४५ दिने हाते होजियारी (स्विटर बुनाइ) बन्ने तालिमबाट सिस सिकेपछि रोजगारीमा जोडिन सजिलो भएको बताउँछिन् ।
सिपले आत्मविश्वास बढाउने काम गरेको भन्दै डाँगी भन्छिन्,‘पहिले कुनै सिप थिएन, केही काम गर्छुभन्दा पनि गर्न सक्ने अवस्था थिएन । अब स्विटर बुन्न सिक्ने भएकी छु, कुनै व्यवसाय गरेर घर व्यवहार चलाउन सक्छु भन्ने लागेको छ ।’ डाँगी जस्तै सोही तालिममा सहभागी धेरै महिलाले सिप सिकेर आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् । घरपरिवारको जिम्मेवारीमै सीमित रहेका महिला तालिमले आफ्नै मेहनत र सिपको भरमा आयआर्जन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको सीमा रावत बताउँछिन् । साथै उनीहरूले तालिमबाट सिकेको सिपलाई आगामी दिनमा थप परिस्कृत गर्दै सिपलाई मुख्य आम्दानीको बाटो बनाउने गरी अघि बढ्ने तयारीमा रहेको बताउँछिन् ।
हाते होजियारी तालिमको समापन कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सिप नै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भएको बताइन् । सिप कहिल्यै पुरानो नहुने भएकाले सिकेको ज्ञान र दक्षतालाई व्यवहारमा उतारेर आर्थिक गतिविधिमा जोडिन महिलालाई आग्रह गरेकी थिइन् । महिलालाई आत्मविश्वासी र आत्मनिर्भर बन्न तालिमले प्रेरित गरेको भन्दै भनिन्,‘आज सिकेको सिपले भोलि तपाईंहरूको जीवन परिवर्तन गर्न सक्छ । सिप भनेको यस्तो सम्पत्ति हो, जसलाई कसैले खोस्न सक्दैन । त्यसैले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्नतर्फ अग्रसर हुनुपर्छ ।’
लमही नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा (मेड्पा) की उद्यम विकास सहजकर्ता रिता पुनका अनुसार चालु आर्थिक वर्षमा विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको छ । लमही नगरपालिका ६ मा अचार बनाउने, चप्पल बनाउने तथा कपाल काट्ने तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।
त्यसैगरी वडा नं. ९ को रिहारमा १५ दिने डल कुशन बनाउने तालिममा १५ जना सहभागी भएका थिए भने तेलियामा सञ्चालन गरिएको ४५ दिने हाते होजियारी (स्विटर बुनाइ) तालिममा २० जना महिलाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण लमही नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा (मेड्पा) की उद्यम विकास सहजकर्ता प्रमिला योगीले गरेकी थिइन् ।