सिसौबगर खेल मैदानमा फुटबल प्रतियोगिता सुरु


प्रिया स्मृती गजमेर
देउखुरी, २७ जेठ । लमही नगरपालिका–६ को सिसौबगर खेल मैदानमा बुधवारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिका–६ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले गरेकी थिइन ।

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख योगीले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन । उनले खेलकुदलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा व्याख्या गर्दै युवाहरूलाई खेल गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरेकी थिइन । उनले. खेलाडीहरूलाई खेल भावना अनुसार प्रतिस्पर्धा गर्न आग्रह गर्दै जित र हारलाई स्वाभाविक रूपमा स्वीकार गर्दै खेलकुदमार्फत स्थानीयस्तरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताएकी थिइन ।

लमही नगरपालिका–६ का वडा अध्यक्ष श्यामनारायण चौधरीले युवाहरूको माग र आवश्यकतालाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको बताए । वडाभित्र रहेका युवाहरूलाई खेल गतिविधिमा जोड्ने, उनीहरूको प्रतिभा उजागर गर्ने तथा आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ थियो ।

प्रतियोगितामा वडा नम्बर ६ भित्रका ८ वटा टिमको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन अनुप बुढा मगरले गरेका थिए । प्रतियोगिताले वडा स्तरमा खेलकुद गतिविधिलाई थप चलायमान बनाउनुका साथै युवाहरूमा उत्साह र ऊर्जा थप्ने विश्वास गरिएको छ ।