सेवारखोला पुल : म्याद सकिन दुई दिन बाँकी, ५५ प्रगति प्रतिशत काम


लीलाधर वली

दाङ,१ असार । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिन दुई दिन मात्र बाँकी रहँदा निर्माण प्रगति भने ५५ प्रतिशतमा सिमित भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण तोकिएको समयमा पुल निर्माणको करिव आधा मात्र काम भएको हो ।

घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा ७० मिटर लम्बाई र २० दशमलव ५ मिटर चौडाइको पुल निर्माणका लागि २०८० जेठ ३० गते एमएस रायमाझी कन्स्ट्रक्सन जेभी, काठमाडौंसँग २३ करोड २२ लाख ४३ हजार तीन सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८३ जेठ २९ गतेभित्र पुल निर्माणको काम सकिनुपर्ने भएपनि अहिलेसम्म करिव ५५ देखि ६० प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय नेपालगञ्जका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिनुभएको छ ।

इन्जिनियर चौधरीका अनुसार पुलको सब–स्ट्रक्चर निर्माणको सम्पन्न भइसकेपनि सुपर–स्ट्रक्चरतर्फको काम गर्न बाँकी रहेको छ । पुल निर्माणका लागि तीन वटा पियर निर्माणको काम सकिएपनि स्पान निर्माणलगायतको काम बाँकी रहेको इन्जिनियर चौधरी बताउनुहुन्छ । पुलका दुईवटा स्पानमध्ये एउटा स्पान ढलानको अन्तिम तयारीमा रहेको छ । समयमै काम सम्पन्न गर्न पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरिएको भएपनि बजेट अभावको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाई गर्दा समयमा पुल निर्माणको काम हुन नसकेको इन्जिनियर चौधरी बताउनुहुन्छ । ‘समयमै काम भएको भए अहिलेसम्म पुल निर्माणको अधिकांश काम सकिनुपर्ने थियो’, इन्जिनियर चौधरीले भने,‘निर्माण व्यवसायीको ढिलाइसँगै बजेट अभावका कारण ढिलाई हुन पुगेको छ ।’

सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत मसान्तसम्म म्यादथपका लागि प्रक्रियाअघि बढाइएको पुल सेक्टर कार्यालयका इन्जिनियर चौधरी बताउनुहुन्छ । पुलको हालसम्मको भौतिक प्रगति तथा बाँकी काम गर्न लाग्ने अनुमानित समयको फाइल तयार गरेर म्यादथपका लागि पुल विभागमा फाइल पठाइएको इन्जिनियर चौधरी बताउँछन् । उनका अनुसार पुल निर्माणका लागि हालसम्म निर्माण कम्पनील १० करोड ९३ लाख रुपियाँ भुक्तानी लिएको छ ।

सेवार खोलामा पुल निर्माण नहुँदा बर्षादको समयमा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकखण्डमा सञ्चालन हुने सवारीसाधनसँगै स्थानीय नागरिकलाई हिडडुल गर्न सहजता हुनेछ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोलासँगै हापुरखोला, रानीघाटखोला (कालाखोला) र ग्वारखोलामा पुल निर्माणको काम जारी रहेको छ ।