लमही क्रिकेट रंगशाला चाँडै क्यानलाई हस्तान्तरण गर्छौं : नगर प्रमुख चौधरी


प्रिया स्मृती गजमेर

देउखुरी,९ असार । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले लमही क्रिकेट रंगशाला चाडै नै क्यानलाई हस्तान्तरण गर्ने बताएका छन् । वाइवाइ यु – १९ पुरुष लुम्बिनी प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको मङ्गलबार उद्घाटन गर्दै नगर प्रमुख चौधरीले रंगशाला क्यानलाई हस्तान्तरण गर्ने बताएका हुन ।

नगर प्रमुख चौधरीले लमही क्रिकेट मैदानलाई छिट्टै नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी गराएका थिए । उनले क्यानका पदाधिकारीहरूसँग यस विषयमा निरन्तर संवाद भइरहेको बताउँदै मैदान हस्तान्तरणको काम यथाशीघ्र सम्पन्न गरिने बताए‌‌ । ‘लमहीको क्रिकेट मैदान नेपालकै नमूना मैदानमध्ये एक हो । तर हामीले यसको सम्भावनाअनुसार प्रयोग गर्न सकेका छैनौं’,नगर प्रमुख चौधरीले भने,‘ क्यानको जिम्मामा गएपछि यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना हुनेछन् र यस क्षेत्रको खेलकुद विकासले नयाँ गति लिनेछ ।’

उनले लमही क्रिकेट मैदानले देउखुरी क्षेत्रका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेलाडीहरूको क्षमता विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । नगर प्रमुख चौधरीले लमही क्रिकेट मैदानलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै खेल पूर्वाधारको संरक्षण, विस्तार तथा व्यवस्थापनमा नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिएका थिए ।

लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताए । कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँले लमही क्रिकेट मैदान क्यानको जिम्मामा आएपछि विभिन्न राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए । तीन दिनसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत दाङ, बाँके र बर्दिया तीन समूहका खेल हुने भएका छन् । प्रतियोगिताका अन्य खेलहरु भने रुपन्देहीको भैरहवामा सञ्चालन भइरहेका छन् ।