अन्तरविद्यालय कप फुटबल : पद्मोदय, गोरखा बोर्डिङ, पुलिस र जनज्योति सेमिफाइनलमा


दाङ, ११ असार । दाङ जिल्ला अन्तरविद्यालय (कक्षा ८ सम्म)  कप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत घोराही क्षेत्रबाट सेमिफाइनलमा पुग्ने चार विद्यालयको टुङ्गो लागेको छ।

हापुर युथ क्लबको आयोजनामा घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित खेलमैदानमा बिहीबार भएका क्वाटरफाइनल खेलबाट पद्मोदय माध्यमिक विद्यालय, गोरखा बोर्डिङ स्कुल, नेपाल पुलिस स्कुल र जनज्योति विद्यामन्दिर सेमिफाइनलमा प्रवेश गरेका हुन्। पहिलो क्वाटरफाइनलमा गोरखा बोर्डिङ स्कुलले नवज्योति बोर्डिङ स्कुललाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। दोस्रो खेलमा नेपाल पुलिस स्कुलले शुभसन्देश बोर्डिङ स्कुललाई ४–२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्यसैगरी जनज्योति विद्यामन्दिरले भ्यालीटप बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित दर्ता गर्दा पद्मोदय माध्यमिक विद्यालयले गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरालाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको‌‌ थियो। आयोजक हापुर युथ क्लबका अध्यक्ष विनोद विकका अनुसार शुक्रबार बिहान ७ बजे हुने पहिलो सेमिफाइनलमा पद्मोदय माध्यमिक विद्यालय र गोरखा बोर्डिङ स्कुल तथा दोस्रो सेमिफाइनलमा नेपाल पुलिस स्कुल र जनज्योति विद्यामन्दिरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता घोराही, हापुर र तुलसीपुर गरी तीन क्षेत्रमा सञ्चालन हुनेछन्। क्षेत्रगत चरणबाट छनोट भएका टोलीबीच अन्तिम प्रतिस्पर्धा गराई जिल्लास्तरीय च्याम्पियनको टुङ्गो लगाइने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडीलाई विधागत रूपमा विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।