उमेर समुहमा आफुलाई अब्बल बनाउदै दाङकी आसना, यु–१९ महिलाको राष्ट्रिय टिममा


विकास भट्टराई
दाङ, १५‌‌असार । यही जुलाई ११ देखि मलेसियामा हुने एसीसी यु–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीमा दाङकी आसना चौधरी परेकी छिन्। आसना बिगत ४ वर्षदेखि निरन्तर दाङबाट उमेर समुहमा प्रतिनिधित्व गर्दै आफुलाई अब्बल साबित गरिरहेकी खेलाडी हुन ।

आफ्नो दिदीबाट बलिङ गर्न सिकेकी उनले आफ्नो दिदीलाई नै प्रेरणा को श्रोत मानेर अघि बढेको बताउछिन । आफुलाई निखार्न उनी निरन्तर घोराही स्थित गुलरिया क्रिकेट मैदानमा धेरै जसो अभ्यास गरिरहेकी हुन्छिन् । फलस्वरुप उनी दाङ जिल्लाको कप्तानी गर्दै प्रदेशको टिममा आफ्नो उत्कृष्ट बलिङमार्फत ब्याटरहरुलाई चक्मा दिन माहिर उनको खेलले दर्साउने गर्दछ । फलस्वरुप आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा सार्वजनिक‌ गरेको‌ १८ सदस्यीय टोलीमा दाङकी प्रतिभाशाली क्रिकेटर आसनाले स्थान बनाउन सफल भएकी हुन्।

दाङकी क्रिकेट‌‌ खेलाडी‌ चौधरीसंगै लुम्बिनी प्रदेश क्रिकेटबाट प्रतिनिधित्व गर्ने रुपन्देहीकी एन्जी पाठक पनि नेपाली टोलीमा समावेश भएकी छन्।नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। जुलाई ११ देखि सुरु हुने प्रतियोगितामा एसियाका विभिन्न देशका यु–१९ महिला टोलीहरूको सहभागिता रहनेछ।