दाङ जिल्ला अन्तर विद्यालय कप फुटबलको उपाधि नेपाल पुलिस स्कुललाई


दाङ, २३ असार । दाङ जिल्ला अन्तर विद्यालय कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि नेपाल पुलिस स्कुल, घोराहीले जितेको छ ।

घोराही उपमहानगरपालिका–१२, हापुर स्थित बिजौरी खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस स्कुलले मावि सेन्टर, तुलसीपुरलाई कडा प्रतिस्पर्धाकाबीच १–० गोलले पराजित गर्दै विजेता बनेको हो । दुवै टिमबीच कडा प्रतिस्पर्धा भएपनि एक गोलले पुलिस बिजयी हुन सफल भएको हो ।

विजेता नेपाल पुलिस स्कुलले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मावि सेन्टर, तुलसीपुरले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बझुाउनु परेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।

हापुर युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाभरका ५० विद्यालयले सहभागिता जनाएका थिए । आयोजक हापुर युथ क्लबका अध्यक्ष विनोद विकका अनुसार, विद्यालयस्तरैबाट फुटबल खेलको विकास गर्ने, विद्यार्थीहरूमा खेलप्रतिको रुचि जगाउने र उनीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

मैत्रीपूर्ण खेलमा रेफ्री टिम विजयी
दाङ जिल्ला अन्तर विद्यालय कप फुटबल प्रतियोगिताको फाइनल खेलका अवसरमा रेफ्री र पत्रकारहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । मैत्रीपूर्ण फुटबल खेलमा रेफ्रिको टिमले पत्रकारको टिमलाई ३–१ गोलले पराजित गर्दै जित हासिल गरेको थियो ।