जेन–जी आन्दोलनमा अदालतबाट फरार कैदी पक्राउ


दाङ, २८ असार । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका २५ वर्ष कैद सजाय तोकिएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ बनगाउँ निवासी ३३ वर्षीय गोरे भन्ने गोविन्द विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार विकलाई दाङ जिल्ला अदालतले २०७८ जेठ २८ गते २५ वर्ष कैद सजाय सुनाइएको थियो ।

सजाय भुक्तानका क्रममा कारागार कार्यालय तुलसीपुरमा रहेका विक २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । फरार अभियुक्तको खोजतलासका क्रममा प्रहरीले २०८३ असार २७ गते राति घोराही उपमहानगरपालिका–१३ बनगाउँस्थित लुकिछिपी बसेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डा केसीले जानकारी दिनुभएको छ । पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी गरिएको छ ।