लुम्बिनी फुटबल एकेडेमीको तेश्रो वार्षिकोत्सव, खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट भएको प्रयास प्रंशसा


दाङ, १ साउन । घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीले आफ्नो तेश्रो बार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर वलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता एवं महासंघका केन्द्रीय सचिव सविन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुलाई प्राथमिकतामा राख्दै लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कर्यक्रममा खेलकुद क्षेत्रको विकासका लागि राज्य, स्थानीय सरकार, विद्यालय, अभिभावक र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड थिए । वक्ताहरूले खेललाई अतिरिक्त क्रियाकलापका रूपमा सीमित नराखी शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए खेलकुदले अनुशासित, स्वस्थ, सक्षम र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले राज्यले खेल शिक्षा, पूर्वाधार विकास, प्रशिक्षक उत्पादन तथा प्रतिभा संरक्षणमा विशेष नीति र पर्याप्त लगानी गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि विपुल पोख्रेलले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीबोध विकास गर्ने उल्लेख गर्दै लुम्बिनी फुटबल एकेडेमीले नयाँ खेलाडी उत्पादन तथा फुटबल विकासमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए। घोराहीमा निजी क्षेत्रबाट खेलकुद प्रवद्र्धनका लागि भइरहेको पहलले नयाँ प्रतिभा उत्पादनमा सकारात्मक ऊर्जा थपेको उनको भनाइ थियो ।
विशिष्ट अतिथि सविन प्रियासनले युवालाई खेलप्रति आकर्षित गर्दै स्वस्थ समाज निर्माणमा एकेडेमीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए। उनले विद्यालय तहदेखि नै खेल शिक्षालाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तह, विद्यालय र सरोकारवाला निकायले दीर्घकालीन योजना, आवश्यक पूर्वाधार, दक्ष प्रशिक्षक र पर्याप्त लगानी सुनिश्चित गर्न सके अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली खेलाडी उत्पादन सम्भव हुने बताए।

कार्यक्रममा एकेडेमीका सल्लाहकार तथा उपप्राध्यापक सुन्दर गौतम, भिक्टोरिया इन्टरनेसनल कलेजका बीबीए कोर्डिनेटर ढकराज सुवेदी, मोडेल सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल हरिप्रसाद पौडेल, मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका विष्णुप्रसाद अधिकारी तथा प्रशिक्षार्थी रामकरण सदरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलकुद स्वास्थ्य, अनुशासन र राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र भएकाले यस्ता संस्थाको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए ।

वार्षिकोत्सवका अवसरमा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले गीत, नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी ऋचा बुढाथोकीले गरेकी थिइन् । निजी लगानीमा स्थापना भएको लुम्बिनी एकेडेमीले घोराहीमा विगत तीन वर्षदेखि बालबालिका तथा युवालाई फुटबल प्रशिक्षणसँगै विभिन्न प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ ।