नेपालले गुमाउने भयो एएफसी यू–२० एसियन कप क्वालिफायर्स


काठमाडौं, २१ साउन । नेपालले एएफसी यू–२० एसियन कप क्वालिफायर्स गुमाएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार चीनमा हुने यो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरे पनि नेपाललाई समावेश गरिएको छैन ।

नेपालले फिफा निलम्बनका कारण यो प्रतियोगिता गुमाएको हो । एएफसी अनुसार, निलम्बन नभएको भए नेपाल समूह ‘आई’ मा पर्ने थियो । योसँगै नेपालले निलम्बनका कारण तेस्रो प्रतियोगिता गुमाएको छ । यसअघि नेपालले एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू–१७ महिला एसियन कप क्वालिफायर्स गुमाएको थियो ।

फिफाले गत असार ११ गते तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनिश्चितकालीन निलम्बनमा राखेको थियो । निलम्बनकै कारण नेपालले आफ्नो सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्प्यिनसिप पनि गुमाउने खतरा छ । बंगलादेशमा हुने यो प्रतियोगिताको निम्ति दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर १ सम्म निलम्बन फुकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराउने जनाएको छ । प्रतियोगिता चीनमा अगष्ट अन्तिम सातादेखि सुरु हुनेछ ।