दाङमा बढ्दै रगतको माग, छ हजार आठ सय बढी युनिट सङ्कलन 


लीलाधर वली
घोराही,२६ साउन । दाङमा रगतको माग बढ्दै गएको छ । अस्पतालमा बढ्दो बिरामीको चापसँगै रगतको मागसमेत बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
रक्त सञ्चार केन्द्र दाङका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा सङ्कलन गरेको भन्दा बढी रगत बिरामीलाई वितरण गरिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लामा छ हजार ८३७ युनिट रगत सङ्कलन भएकोमा बिरामीलाई सात हजार ५०१ युनिट रगत प्रदान छ । रक्त सञ्चार केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा छ हजार २९३ युनिट रगत सङ्कलन भएकोमा छ हजार ७९० युनिट रगत बिरामीलाई वितरण गरिएको थियो ।
अघिल्लो वर्षको तुलनामा गतआर्थिक वर्षमा ५४४ युनिट रगत बढी सङ्कलन भएको रक्त सञ्चार केन्द्र दाङका बरिष्ठ प्राविधिक ठाकुर पौडेलले जानकारी दिनुभएको छ । सङ्कलनसँगै वितरण पनि ७११ युनिटले वृद्धि भएको छ । रगत कम्पोनेन्ट मेसिनका माध्यमबाट सङ्कलन गरेको रगतको रक्ततत्व विभाजन गरेर बिरामीलाई चाहिएको रगत आवश्यकताका आधारमा वितरण गर्दा सङ्कलनभन्दा बढी रगत वितरण देखिएको बताउनुहुन्छ ।
‘रगत कम्पोनेन्ट मेसिनका माध्यमबाट रक्ततत्व छुट्यार बिरामीलाई आवश्यकताका आधारमा रगत दिन सकिन्छ’, केन्द्रका बरिष्ठ प्राविधिक पौडेलले भन्नुभयोे,‘जसले गर्दा कम रगत सङ्कलन भए पनि धेरै जनालाई रगत पु¥याउन सकिएको छ ।’ उहाँका अनुसार कम्पोनेन्ट मेसिनका माध्यमबाट एक जनाबाट सङ्कलन गरिएको रगतबाट दुईदेखि तीन तत्वसम्म छुट्याएर सकिन्छ ।
रक्त सञ्चार केन्द्रका अनुसार उक्त रगत पुरुष दुई हजार ६८६ र महिला नौ सय जना गरी तीन हजार ५८६ जनाबाट सङ्कलन गरिएको थियो । गतआर्थिक वर्ष जिल्लामा विभिन्न रगत समूहको छ हजार ६६२ युनिट पोजेटिभ र १७५ युनिट नेगेटिभ गरेर छ हजार ८३७ युनिट रगत सङ्कलन भएको छ । जसमा ‘ए’ पोजेटिभ एक हजार ८४४ र नेगेटिभ ४७ गरेर एक हजार ८९१ युनिट, ‘बी’ पोजेटिभ दुई हजार २९१ र नेगेटिभ ५२ युनिट गरेर जम्मा दुई हजार ३४३ युनिट, ‘ओ’ पोजेटिभ एक हजार ८५३ र नेगेटिभ ५५ गरेर जम्मा एक हजार ९०८ र ‘एबी’ पोजेटिभ ६७४ र नेगेटिभ २१ युनिट गरेर ६९५ युनिट सङ्कलन भएको थियो  ।
जिल्लामा उमेरगत रूपमा रक्तदान गर्ने नियमित रक्तदाता पुरुष ३८४ जना र महिला एक हजार १२ जना र नयाँ रक्तदाता पुरुष एक हजार ८५९ जना र महिला ३८२ जना रहेको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
घोराहीमा ७३२ युनिट निःशुल्क वितरण
एक वर्षको अवधिमा घोराहीका २७० जना नागरिकले निःशुल्क रगत प्राप्त गरेका छन् । नागरिकलाई निःशुल्क रगत पु¥याउने घोराही उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबिच भएको सम्झौता अनुसार रक्त सञ्चार केन्द्रबाट आर्थिक वर्ष २०८२÷०८३ मा १४६ जना महिला र १२४ जना पुरुषले ७३२ युनिट रगत निःशुल्क रगत प्राप्त गरेका हुन् । जसमा मृगौला रोगका ५७ जना महिला र ६२ जना पुरुष बिरामीले निशुल्क रगत प्राप्त रहेको रक्त सञ्चार केन्द्रका बरिष्ठ प्राविधिक पौडेलले बताउनुभएको छ ।
थालेसमिया रोगका बिरामी २३ जना महिला र १२ जना पुरुष, सिकलसेल एनिमियाका सात जना महिला र दुई जना पुरुष, क्यान्सर रोगका सात जना महिला र चार जना पुरुष, प्रसूतिका पाँच जना महिला र अन्य रोगका ४७ जना महिला र ४४ जना पुरुषले निःशुल्क रगत प्राप्त गरेका छन् । रक्त सञ्चार केन्द्रले बिरामीलाई रगत दिदा प्रति युनिट एक हजार रुपिँया लिने गरेको छ ।