Ad Area

आवश्यकताको आधारमा खोरेत विरुद्ध खोप


दाङ, २८ मंसिर । आवश्यकताको पहिचान गरेर पशुलाई खोरेतविरुद्ध खोप प्रदान गरिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आयोजनामा खोरेत रोग उन्मूलन अभियान समन्वय गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले जिल्लाको कुन क्षेत्रमा बढी जोखिम तथा आवश्यकता पहिचान गरेर खोप प्रदान गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा. बेदवहादुर केसीले जिल्लामा पनि खोरेत रोगको जोखिम रहेकाले पशुलाई खोप प्रदान गर्नुपर्ने बताए । पशुलाई रोगबाट बचाउनका लागि खोपले सहयोग पुग्ने उनको भनाइ छ । नेपालमा खोरेत रोग उन्मूलन गर्न गाह्रो रहेको उनले बताए । ‘खोरेत रोग उन्मूलन गर्न गाह्रो विषय हो यसको नियन्त्रण गर्न लाग्नुपर्छ’, डा. केसीले भने ।

रोग नियन्त्रणका लागि बाहिरबाट ल्याइने पशुलाई क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए । ‘पशुहरुलाई रोगबाट बचाउनका लागि जैविक सुरक्षाका विधि अपनाउनुपर्छ’, प्रमुख डा. केसीले भने । पशुलाई खुल्ला चरिचरण तथा बाँधेर पालन गरेमा पनि केही मात्रामा रोगबाट बचाउन सकिने उनको भनाइ छ । हावापानीको माध्यमबाट समेत खोरेत रोग सर्ने समेत उनले बताए । सरकारले व्यावसायिकरुपमा पालन गर्ने कृषकहरुलाई सहयोग पु¥याउने उद्देश्यले निःशुल्क खोरेत विरुद्धको खोप दिने गरेको बताए । ‘सरकारले कृषकहरुलाई सहयोग पुगोस भनेर नै निःशुल्क खोप प्रदान गर्न लागेको छ’, डा. केसीले भने ।

कार्यालयका पशु विकास अधिकृत सुदाम भट्टले खोरेतविरुद्धको खोप सञ्चालनको कार्य विधिका बारेमा जानकारी दिएका थिए । नेपालले खोरेत उन्मूलनमा हस्ताक्षरसमेत गरिसकेको उनले बताए । सरकारले खोरेत उन्मूलन गर्ने भनेर खोप प्रदान तथा सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले पशुपालनमा आत्मनिर्भर बन्नका लागि अगाडि बढ्नुपर्ने बताए ।

कृषकहरुलाई सरकारले सहयोग गर्दै आएको उनको भनाइ छ । ‘कृषकहरुलाई सरकारले आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ यसको सदुपयोग गरेर अगाडि बढ्नुहोस्’, प्रमुख नेपालीले भने । हरेक क्षेत्रबाट आत्मनिर्भर बन्दै गएमा देशलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ थियो । कृषि ज्ञान केन्द्र दाङका पृथ्वी लामिछानेले रोग लाग्न नदिनका लागि सचेत हुनुपर्ने बताए । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन अगाडि बढ्नुहोस्’, उनले भने ।

खोपका बारेमा क्यालेण्डर निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । घोराही उपमहानगरपालिका पशु शाखा प्रमुख जीवराज पौडेलले जिल्लाका सबै क्षेत्र खोरेतको जोखिम रहेको बताए । ‘गणुस्तरीय उत्पादन भएमा बाहिरसमेत निर्यात गर्न सकिन्छ’, पौडेलले भने । कार्यक्रमको सहजीकरण भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अधिकृत कृष्ण न्यौपानेले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad