लुम्बिनीमा मनसुनजन्य विपदमा परी ८५ जनाको मृत्यु


दाङ, ५ भदौ । लुम्बिनी प्रदेशमा साढे दुई महिनाको अवधिमा मनसुनजन्य विपदमा परी ८५ जनाको मृत्यु भएको छ । जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना हुँदा ८५ जनाको मृत्यु भएको छने १३ जना घाइते भएका छन् । विपदका घट्नामा दुई जना बेपत्ता भएका छन् ।

प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा शुक्रबार प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा यो अवधिमा पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोमा परेर २० जना, बाढीका कारण चार जना , चट्याङबाट सात जनाको मृत्यु भएको छ । रोल्पाको थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। दुई जना घाइते भएका छन्। रोल्पाकै सुनछहरी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ। लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । चार स्थानीय तहमा गरी ११ घरधुरी विपदबाट विस्थापित भएका छन् । चार स्थानीय तहमा गरी ३१८ घरधुरी जोखिममा रहेको विवरण सार्वजनिक गरिएको छ ।

सुस्ताका लागि २५ लाख, रोल्पाको सडक र पुल मर्मतमा ५० लाख

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्ले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मार्फत त्यो रकम खर्च गरिने छ।

त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकातर्फको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परी आवागमन अवरूद्ध भएको हुँदा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको छ। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले त्यस्तो जानकारी दिएका हुन् ।
त्यस्तै रोल्पाकै सुलीचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएको हुँदा तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेकोले सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत त्यो रकम खर्च गरिने भएको छ ।
रोल्पामा राहत सामग्री पठाइयो

परिषद्ले बाँकेको नेपालगंज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पामा पठाइएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो ।

त्यस्तै नेपालगंजको गोदाममा प्रयोगको म्याद सकिएका सामग्री नष्ट गर्ने निर्ण यसमेत गरिएको छ। डढेलो, आगलागी तथा बाढी पहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनालाई तत्काल संचालनमा ल्याउन कार्यालयमा मौज्दात रहेका खानेपानीका पाइप आवश्यकताअनुसार प्रयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ । बैठकले मनसुनजन्य विपद्को जोखिम कायमै रहेकाले विपद् व्यवस्थापनका विषयगत समितिहरू ‘क्लस्टर’ को नेतृत्व गर्ने मन्त्रालय तथा निकायलाई तत्काल बैठक राखी आफ्नो क्लस्टरलाई सक्रिय बनाउन पनि परिषद्ले निर्देशन दिएको छ ।

साथै मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पा लगायतका जिल्लामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् । परिषद्को १५ औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मत गर्ने विषयमा सरकारले निर्णय गरेको बताए।