बसन्त कालाथोकी हत्या प्रकरणको छानविन गर्न माग


काठमाडौं,९ भदौ । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले काठमाडौं शंखमुलस्थित एक होस्टेलमा भएको घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकको सून्य समयमा बोल्दै घिमिरेले दाङ घोराही १७ का बसन्त कालाथोकीमाथि होस्टेलमा भएको सांघातिक हमला र त्यसपछि मृत्यु भएको प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद घिमिरले भने ‘काठमाडौँको शंखमूलस्थित एक होस्टेलमा दाङको घोराही उपमहानगरपालिका वडा नं। १७ का बसन्त कालाथोकीमाथि साङ्घातिक आक्रमण भई उनको मृत्यु भएको खबरले स्तब्ध बनाएको छ । सोही दुखद घटनाको खबर सुनेलगत्तै उनकी आमाले पनि आत्महत्या गरी ज्यान गुमाएपछि एउटै परिवारमा दोहोरो शोक परेको छ ।’

सांसद घिमिरले बसन्त कालाथोकीको मृत्युको सत्यतथ्य कारण तत्काल निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीहरूमाथि कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे । शंखमुलको भ्याली ब्वाइज होस्टेलमा भदौ ५ गते सामान्य विवाद हुँदा बसन्त कालाथोकीको चक्कु प्रहारबाट मृत्यु भएको थियो ।