Ad Area

मानव जीवनमा प्रतिकुल असर परेको भन्दै बंगलाचुलीबाट चुनढुंगा उत्खनन् र ढुवानी गर्न रोक


घोराही १, पुस । हिउँदमा धुलो र वर्षामा हिलोले मान्छेहरु नचिनिने अवस्थामा पुगेको घोराही–मुकुुटी सडकको अवस्थाका कारण स्थानीय नागरिकले व्यापक समस्या झेल्न बाध्य भएपछि आज बिहीबारबाट बंगलाचुलीमा रहेका सबै चुनढुंगा खानीबाट उत्खनन् र ढुवानी कार्यमा रोक लगाईएको छ ।

बुधबार बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षतामा वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सिमेन्ट उद्योगका प्रतिनिधि, नागरिक अगुवाहरुको संयुक्त बैठकले आज बिहीबारबाट चुनढुंगा उत्खनन् कार्य स्थगन गर्ने निर्णय गरेको हो । यसअघि मंसीर १६ गते बसेको सरोकारवालाहरुको संयुक्त बैठकले १० दिनभित्रमा उत्पन्न समस्या समाधान गर्ने बताए पनि कुनै चासो नलिएपछि अब उप्रान्त विगतमा भएका सम्झौता कार्यान्वयन नहुँदासम्म चुनढुंगा उत्खखन र ढुवानी कार्य गर्न नदिने निर्णय भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । विगतमा चुनढुंगा उत्खनन् गर्दा अपनाउनु पर्ने सावधानी, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको मापदण्ड र गाउँपालिकासँग भएको सम्झौता कुनै पनि कार्यान्वयन हुन नसकेपछि अन्तिम विकल्पका रुपमा बुधबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले चुनढुंगा उत्खनन् कार्य स्थगत गरेको जनाईएको छ ।

करीव तीन वर्ष अघि शुुरु भएको सडक कालोपत्रको काम नसकिँदै अहिले सो सडक क्षतविक्षत भएको छ । कालोपत्रे खोज्न सडकको किनाराका ठाउँमा खोज्नु पर्ने अवस्था छ । भारवहन भन्दा बढी ढुवानी गर्ने टिपरका कारण कालोपत्रे गरिएको सडक कामै नलाग्ने गरी धुमाम्मे भएको छ । जसका कारण करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको कालोपत्रे बालुवामा पानी खन्याए जस्तै हुन पुगेको हर्नोकका श्याम पुनको भनाई छ । अहिले घोराही–बंगलाचुली सडकको आसपासमा रहेको सबै बस्तुभाउमा .ठूलो क्षति भएको छ । स्थानीय लगाएको मुलाभाजी, तरकारी, अन्नबाली, तोरी धूलोले कामै नलाग्ने भएको छ । यस्तै, पानीको मुहानमा असर गर्दा पिउने पानीमा समस्या आएको स्थानीय नैनकला खत्रीले बताए ।

उतिबेला चुनढुंगा बोक्ने टिपरको लावालस्कर नलाग्दा स्वस्थ रहेको सो क्षेत्र अहिले धुलाम्मे हुँदा स्थानीय जनजीवनमा गम्भीर असर पर्न थालेको स्थानीयहरुको दुखेसो छ । ‘बाउ बाजेले पहरा फोडेर बनाएको बाटो लामो समयपछि स्तर उन्नती भएपछि अब त सबै सजिलो होला भनेको छ यो टिपरले यहाँ बस्नै नदिने भयो, सबै कामै नलाग्ने गरी क्षति गरिरहेको छ,’ हर्नोकका अर्का मनिराज घर्तीले भने ।

Blog Post Ad

मदनभण्डारी लोक मार्गको कालोपत्रे गर्ने जिम्मा जलजला निर्माण सेवा प्रालिले लिएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सिस्नेखोलादेखि बंगलाचुलीको तापा चोकसम्म कालोपत्रे गर्ने जिम्मा लिएको जलजलाले ३२ करोड रुपैयाँमा उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएर काम गरेपनि कालोपत्रे नहुँदै चुनढुंगा बोकेका टिपरका कारण सडक वर्ष दिनपनि टिक्न पाएन ।

सो सडक भएर चुनढुंगा बोक्न जाने टिपरको संख्या करीब १ हजारको हाराहारीमा रहेको गाउँपालिका अध्यक्ष वलीले बताए । ‘सडकको क्षमताभन्दा बढी टिपर गुडे, त्यसैमा भारवहन भन्दा बढी चुनढुंगा बोकेर बाटो खत्तम पारे, हामी गाउँपालिकाबासीलाई खान बस्न पनि दिएनन्, जताततै समस्यै समस्या भएको छ, यो अवस्थामा हामी चुप लागेर बस्ने कुरा हुँदैन,’ गाउँपालिका अध्यक्ष वलीले भने, ‘नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार हनन् भयो, त्यसमा वातावरणमा पनि नकारात्मक प्रभाव पर्न थालेको छ ।’

उक्त सडक खण्डमा तीन वटा सिमेन्ट उद्योगका चुनढुंगा बोक्ने टिप्परहरुले सडक एकछिन पनि खाली हुँदैन । क्षमता भन्दा धेरै माल ढुवानी र तिब्र गतिले कालोपत्रे सडक छियाछिया भैसकेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को तापा, वडा नम्बर ४ को खारा क्षेत्र र वडा नम्बर ६ को तिमिले क्षेत्रबाट घोराही सिमेन्ट, सम्राट सिमेन्ट र शुभश्री अग्नी सिमेन्ट उद्योगका टिप्परहरु चुनढुंगा लिएर दिनरात कुद्दा सडक कामै नलाग्ने भएको छ भने स्थानीयको जनजीवनमा नकारात्मक असर परेको छ । अहिले बालबालिकाहरुमा स्वासप्रस्वास सम्बन्धि समस्या देखा परेको, गाईबस्तुको घाँसपातमा चुनढुंगाको धुलो बसेपछि खाँदा बाख्रा, पशुचौपाया बिरामी परेको, कृषि उत्पादन घटेको, पानीका मुहान सकेकोलगायत समस्या सिर्जना भएको छ ।

यसअघि पालिकाले सरोकार निकायसँग पटक पटक छलफल गरेर समस्या समाधानका लागि पहल गरेपनि हुन्छ भन्ने बाहेक केही हुन सकेन । जसका कारण अहिले परिस्थिती भयावह हुन लागेको भन्दै गाउँपालिकाले गम्भीरतापूर्वक चासो लिएको छ । बुधबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले ३ वटै सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गरी उद्योग स्थलसम्म चुनढुंगा ढुवानी गर्ने सयौँ टिपरहरुका कारण खानी आसपास, उद्योगसम्म पुग्ने सडक आसपासका बस्तीका सयौँ नागरिक, यस्तै आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थी, वन क्षेत्र, खानेपानीका मुहान, खेतीयोग्य जमिनमा वर्षौदेखि वातावरणीय प्रदुषण भई हजारौँ नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै यहाँको भौतिक संरचना, खेतीयोग्य जमिनमा उत्पादनमा कमी, आवतजावतमा समस्या, नागरिकको स्वास्थ्यमा प्रतिकुल असरलगायत थुप्रै समस्या उत्पन्न भएको ठहर गरेको छ ।

तर, ती समस्या समाधानका लागि उद्योगका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, बंगलाचुली गाउँपालिका, उद्योग प्रभावित क्षेत्रका नागरिकहरुका बीचमा यसअघि समस्या समधानका लागि पटक पटक भएका सम्झौता र निर्णय कार्यान्वयन नभएको हुँदा सिंगो मानव समुदाय, पशुपंक्षी, वन वातावरणमा परेको प्रत्यक्ष असर न्यूनीकरण गर्दै विभिन्न मिति र समयमा भएका निर्णय अक्षरश कार्यान्वयन नहुँदासम्म चुनढुंगा उत्खनन् कार्य स्थगन हुने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्वस्थ वातावरणको हक वातावरण संरक्षण ऐन २०७६ को दफा १३ बमोजिम २०७८ पुस १ गतेका दिनदेखि बंगलाचुली गाउँपालिकाभित्र रहेका सबै उद्योगका चुनढुंगा उत्खनन् तथा ढुवानी कार्य स्थगन गर्ने सर्वदलीय सर्वपक्षीय बैठकबाट निर्णय गरियो ।’ बैठकमा सिमेन्ट उद्योगहका तर्फबाट शुभश्री अग्नी सिमेन्टका लोकेन्द्र थापा, सम्राट सिमेन्टका तर्फबाट विष्णुप्रसाद गौतम, घोराही सिमेन्टका तर्फबाट सरोज शर्माको उपस्थिती थियो ।

बैठकले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालय दाङ, खानी तथा भूगर्भ विभाग काठमाडौँ, जिल्ला प्रहरी कार्यालय, सरोकार उद्योग कार्यालय, ईलाका प्रहरी कार्यालय, कमिरेचौर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङ, घोराही उपमहानगरपालिका र नागरिक सरोकार समतिलाई पनि पठाइएको गाउँपालिका अध्यक्ष वलीले बताए । सडक बनेर अब विकास हुने भयो भन्दै खुशी मनाउँ गरेका बंगलाचुलीबासीका लागि अहिले त्यही सडक अभिसाप जस्तै बन्न थालेको छ ।

Blog Post Ad Blog Post Ad