Ad Area

जिल्ला लिग फुटवल प्रतियोगिता खेलाडीलाई क्षमता देखाउने प्लेटफर्म


दाङ, १५ पुस । दाङमा एन्फा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दाङ जिल्ला फुटवल संघको आयोजनामा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै महेन्द्र बहुमुखी क्याम्पस घोराहीका पूर्व प्राध्यापक तथा खेलप्रेमी डा. नारायणसिंह गुरुङले प्रतियोगिता दाङ जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म भएको बताएका छन् । उनले प्रतियोगिताले जिल्लास्तरबाट खेलाडीहरुलाई अघि बढ्न मद्दत गर्ने भएकाले अनुशासित बनेर खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे ।

‘प्रतियोगिता खेल क्षेत्रको विकाससँगै नयाँ खेलाडीका लागि क्षमता प्रदर्शन गर्ने प्लेटफर्म हो’, प्रमुख अतिथि गुरुङले भने– ‘प्लेटफर्मलाई उपयोग गर्दै खेलाडीले आफ्नो क्षमता देखाउनुपर्छ ।’ उनले शारीरिक स्वास्थ्यसँगै पहिचानसँग जोडिएको खेल क्षेत्रको विकासले स्तरीय खेलाडीको पहिचानसँगै स्वास्थ्य र इमान्दार नागरिक उत्पादनमा समेत मद्दत गर्ने बताएका थिए । प्रतियोगिताको उद्घाटन खेलमा राप्ती क्लव घोराही र युएनबिसीले ड्र खेल्दै अंक बाँडेका छन् ।

घोराहीको भरतपुर खेलमैदानमा भएको निर्धारित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको थियो । बराबरी खेलेका दुवै टिमले समान १-१ अंक बाँडेका हुन् । दाङ जिल्ला फुटवल संघका उपाध्यक्ष तथा घोराहीका खेल संयोजक बुद्धि पुनको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमको सहजीकरण दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनले गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रवार पहिलो खेल दिउँसो १२ बजे न्यू स्टार फुटबल क्लव नारायणपुर र नवपुर फुटवल एकेडेमीकाबीच हुने भएकोछ भने दोस्रो खेल दिउँसो २ः३० बजे राप्ती क्लव घोराही र किसान जागृत क्लवका बीच हुने आयोजक दाङ जिल्ला फुटवल संघले जनाएको छ । ‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा फुटवल संघ दर्ता भएका दशवटा क्लबहरुको सहभागिता रहेको छ । लिगका पहिलो चरणका खेलहरु घोराही र तुलसीपुर गरी दुई ठाउँमा सञ्चालन गरिएको छ ।

Blog Post Ad

दोस्रो चरणका खेलहरु बेलझुण्डी रंगशालामा खेलाउने तयारी गरिएको छ । जिल्लामा पहिलोपटक सुरु भएको जिल्ला लिगले खेलमा सुधारसँगै प्रतिभाशाली र क्षमतावान खेलाडी पहिचान गर्न तथा फुटबल क्लवहरुलाई क्रियाशील बनाउने दाङ फुटवल संघका महासचिव नरेन्द्र पुनले बताए । १९ गतेसम्म पहिलो चरणको लिग सकिनेछ भने दोस्रो चरणको लिगको तालिका पुनः प्रकाशित गरी लिग खेलाइने भएको छ । पहिलो चरणमा हरेक क्बलले ४–४ वटा खेल खेल्नेछन् भने दोस्रो चरणमा ५–५ वटा खेल खेल्नेछन् ।

Blog Post Ad Blog Post Ad