Ad Area

हिउँदै झरी किसानलाई फलिफाप, फसल सप्रिने आश


घोराही १६, पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँका युवराज खत्री बिहीबार बिहानै खेतमा भेटिए । हातमा बाल्टी अनि बोरामा मल । खत्रीसँगै थिईन, श्रीमती पनि । करीब १२ कट्ठामा छरेको गहुँमा दुवै जनाले प्रसन्न मुद्रामा मल हाल्दै थिए । ‘यो पालि त गजब पो भयो । पानी चाहार्ने बेलामा मौसमले राम्रै साथ दिएको छ , फसल पनि राम्रै होला भन्ने आशा छ,’ मल हाल्दै खत्रीले भने ।

सोही ठाउँका अर्का किसान बेचनराम चौधरीले खेतमा तोरी र केराउ छरेका छन् । उनले छरेको केराउ र तोरीले पानी खोजेको थियो । उनले पनि बोरामा ल्याएको मल खुशी हुँदै हाल्दै थिए । मौसमी वर्षाभन्दा यो बेलाको हिउँदै वर्षाले आफुलगायत हिउँदे बाली लगाएका सबै कृषकलाई निकै फाईदा भएको उनको भनाई थियो । उनले भने, ‘पानी पर्यो, एकदम राम्रो भयो, लामो झरी पनि गरेन, रातभरको झरीले जमीन पुरै गल्ने गरी भिजेको छ, ठिक्कको पानी पर्याे, मल हाल्न पनि सजिलो भयो ।’

पश्चिमी वायुको प्रभावका कारण देशभर भएको बदलीले मगलबार रातिबाट परेको लगायतरको हिउँदै झरीले जिल्लाका कृषकलाई बरदानसाबित भएको छ । जल तथा मौसम विज्ञान कार्यालय घोराहीका अनुसार २२ मिलिमिटर वर्षा भएको थियो । बाली उम्रेको करीव एक बित्ताका बोट भएको बेलामा पानी निकै आवश्यक पर्छ, त्यसैले पनि कृषकहरु जमिनको सिंचाई सुविधा नभएको ठाउँमा आकाशे पानीको पर्खाईमा हुन्छन् । उसो त आकाशे पानीले फसललाई निकै र्फाइदा गर्छ ।

सोही ठाउँकी अर्की दामी घर्ती क्षेत्रीले पनि मल हाल्दै गरेको भेटिईन् । ‘१० कठ्ठामा यो पाली गहुँ छरेको छु । राम्रै उम्रेको छ, पानी पर्यो, अझ गजब भयो, मल पायो भने हलक्क हुन्छ की, बाली राम्रै होला जस्तो छ,’ खुशी हुँदै घर्ती क्षेत्रीले भनिन् ।

सोही ठाउँमा ६८ वर्षीय घनश्याम डाँगी पनि हतार हतार मल हाल्दै गरेको भेटिए । ’रातभरको पानीले जमिन भिजेको छ, यो बेलामा मल हाल्योभने जमिनमा राम्रोसँग मिल्छ र बालीलाई फाईदा हुन्छ,’ डाँगीले मल हाल्दै भने, ‘किसानलाई यसरी मौसमले साथ दिए अरु के चाहियो, मेहनतको फल राम्रै होला जस्तो छ ।’

Blog Post Ad

घोराही ६ की अर्की सावित्रा डाँगीलाई भने मौसम पूर्वानुमान महाशाखाले भनेको कुरामा विश्वास लागेको रहेनछ । केही दिनमै मौसम बदली भई पानी पर्ने भनेको सुने पनि विश्वास नलाग्दा दुखजिलो गरी सुती नसुती रातभर खेतमा पानी चाहारेकी थिईन् । सोही रातको बिहानबाट हिउँदे वर्षा भयो । ‘सुतीनसुती कति मेहनत गरेर खेतमा पानी चाहारेको थिएँ, त्यही बिहान पानी पर्यौ, मैले गरेको मेहनत यत्तिकै भयो,’ मल हाल्दै डाँगीले भनिन्, ‘अब त मौसमका कुरामा विश्वास गर्नुपर्ला । नपत्याउँदा बिनासित्ति दुख पाएँ ।’

घोराही १७ कर्जाहीका पूर्णबहादुर चौधरीले खेतमा केराउ र तोरी छरेका छन् । उनको खेतमा उम्रेका ती बालीले पानी र मल खोजेको प्रष्टै देखिन्थ्यो । ‘मौसमले साथ दियो, अब त बाली राम्रै होला भनम्,’ खुशी हुँदै भने, ‘सिंचाईको दुख थियो, हिउँदै झरीले साथ दिएको छ । रातभरीको झरीले खेतमा पुरै सिंचाई भएको छ, बिहान घाम लाग्यो अझ राम्रो भयो ।’

यो पटक जिल्लाका किसानहरुले युरिया मल पाएका छन् । आवश्यकता अनुसार सहकारी संस्थाबाट युरिया मल ल्याएर खेतमा हाल्न लागेको बताउँदै कृषकहरुले अब मल हाल्न पाइँदैन की भन्ने पिरलो हटेको बताउनुभयो । यद्यपि, जिल्लामा अहिले डिएपी मल अभाव रहेको उनीहरुको भनाई छ ।

देउखुरी क्षेत्रका किसानले पनि हिउँदे झरीले निकै साथ दिएको भन्दै खुशी भएका छन् । उता, पश्चिम दाङका कृषकहरुले पनि खेतमा लगाएको हिउँदै बालीलाई पानीले राम्रो साथ दिएको बताएका छन् । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेलामा जिल्लाका किसान हिउँदै झरीका कारण खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् ।

यो वर्षा हिउँदेबाली, तरकारी र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ’, लमही ३ का कृषक रामहरि चौधरीले भने, ‘यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ । वर्षाले मकै लगायतका बालीका लागि निकै फाइदा पु¥याएको उनले बताए । मंसीरमा लगाएको गहुँबालीलगायत हिउँदे बालीमा सिंचाई गर्नुपर्ने बेला पानी परेर निकै फाइदा भएको राप्ती गाउँपालिका वडा नम्बर ६ का किसान प्रेमबहादुर चौधरीले बताए । गहुँ, तरकारी र दलहन बालीलाई पनि निकै फाइदा पुगेको उनले बताए ।

सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली र मकै छरेकोमा हिउँदे वर्षाले साथ दिएको बताएका छन् । पुस महिनाको मध्य सातामा परेको हिउँदे वर्षाले गहुँ, मकै, तरकारी र दलहन गरी हिउँद महिनामा उत्पादन हुने सम्पूर्ण बालीलाई फाइदा पुग्ने किसानको भनाई छ ।

पुस र माघ महिना पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको छ । यस्तै, गहुँ, जौ, मसुरो तथा तरकारीबालीलगायत घाँसेबालीलाई समेत सिंचाई पुगेकाले पशुपालन किसानलाई पनि वर्षाले फाइदा पुर्याएको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जिल्लामा ६७ हजार हेक्टर जमिनमा खेती हुँदै आएको बताए । हिउँदै वर्षाले यो पटक कृषकहरुलाई निकै फाइदा भएको उनको भनाई छ । जसमध्ये यस वर्ष ३९ हजार ४ हेक्टरमा धान खेती भएको थियो । जिल्लामा कृषियोग्य जमीन प्रसस्त भएकाले यहाँका कृषकले पछिल्लो समय कृषि उत्पादनमा लगानी गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad