आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

घोराही १६, पुस । आज शुक्रबार ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ ।
२०१७ सालमा तात्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका नेता भारत प्रवासमा गएका थिए । तर, मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजा समेतले पक्रेर काठमाडौंको सुन्दरीजल बन्दीगृहमा राखेका थिए ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेसले विगतका बर्षहरुमा गोष्ठी, आमसभा लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ । तर, मुलुकमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले गत वर्ष दिवसको अवसरमा आमसभा तथा भिडभाड हुने कार्यक्रमको आयोजना गरिएको थिएन । यस पटक भने औपचारिक कार्यक्रम गरी दिवस मनाउने तयारी भएको छ । यता, दाङमा पनि नेपाली कांग्रैस दाङले आज पार्टी कार्यालयमा बिहान ११ बजे राष्ट्रिय मेलमिलाप दिवस मनाउने तयारी गरको छ । उक्त कार्यक्रममा सहभागी हुन सबैमा नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले आग्रह गरेका छन् ।
‘न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह’ नै मेलमिलाप नीति थियो, वास्तवमा यो राजासँग बिपी कोइरालाको सहकार्यको प्रस्ताव थियो। प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने बिपीको प्रष्ट भनाइ थियो। राजाले बुझ्न सकेनन् वा चाहेनन्। काठमाडौँ विमानस्थलबाटै बिपीलगायतको टोली पक्राउ पर्यो। राज्यद्रोहका मुद्दा ब्युँताइयो जसमा मृत्युदण्डसम्म पनि हुन सक्थ्यो।
बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई पञ्चायत कालभरि अरु राजनीतिक दलले आफ्नो स्वार्थअनुकूल व्याख्या गरे। पञ्चहरूलाई बिपीले आफ्नो खाइपाई आएको भाग खोस्ने त्रास थियो। कतिपय सन्दर्भमा उदार देखिने सूर्यबहादुर थापाले समेत बिपीलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। त्यसबेलाका कम्युनिस्टहरूले यसलाई पञ्चायतसँगको आत्मसमर्पणका रूपमा राजासँग घाँटी जोडिएको सन्दर्भलाई उचाले। राजा भन्नु नै पञ्चायत हो भन्ने कम्युनिस्टहरूको व्याख्या थियो।
राजाले चाहँदा पञ्चायत समाप्त हुन सक्थ्यो। यद्यपि, बिपीले पञ्चायत प्रवेशको कुरा कहिल्यै उठाएको देखिएन। बरु कांग्रेसका सबै महामन्त्री पञ्चायतमा प्रवेश गरे। यसलाई न कांग्रेसले कम्युनिस्टले झैँं रणनीति हो भन्यो न त पञ्चायत प्रवेश गर्नेहरूले नै आफूलाई कांग्रेस रहिरहेको बताउन सके ।